बैशाख १८,काठमाडौँ । चुनाव प्रचार प्रसारको क्रममा राजनितिक दलहरुले आचारसंहिता विपरित मोटरसाइकल र गाडी सहित पार्टीका झण्डा हल्लाउँदै पालैपालो बजार घुम्ने प्रवृत्ति देखिएको छ ।
आइतबार नेपाली कांग्रेस नेत्रावती डबजोङ गाउँपालिकाको उपाध्यक्ष पदकी उम्मेदवारले भारतीय नम्बर प्लेटको गाडी प्रयोग गरेको भेटिएको छ । उपाध्यक्षका उम्मेदवार सीता गुरुङले आचारसंहिता विपरित भारतीय गाडी प्रयोग गर्नुभएको हो । निर्वाचन आचारसंहिता विपरित उम्मेदवार गुरुङले यु.पी. ५६ भी ६७८६ नम्बरको गाडी प्रयोग गरेर धादिङवेशीं हुँदै पालिकाको चुनावी प्रचारमा गएकी छिन् ।
निर्वाचन आयोगले उम्मेदवारको तह अनुसार गाडी प्रयोग गर्न आचार संहितामै उल्लेख गरेको भएपनि कांग्रेसका उम्मेदवार गुरुङले भारतीय नम्बर प्लेटको गाडीमा कांग्रेसको चुनाव चिन्ह, झण्डा र आफ्नो फोटो सहितको प्रचार व्यानर प्रयोग गरेर हिँडेकी हुन्। धादिङका प्रमुख निर्वाचन अधिकृत रमेश प्रसाद ज्ञवालीले कुनैपनि उम्मेदवारले विदेशी नम्बर प्लेटका गाडी प्रयोग गर्न नपाइने आचारसंहितामा प्रष्ट उल्लेख भएको बताए ।
निर्वाचन आचारसंहितामा नेपालमा दर्ता भएका गाडीहरु निर्वाचन प्रयोजनको लागि एक प्रत्यक्ष उम्मेदवारले अधिकतम दुई ओटा हल्का सवारी साधन निर्वाचन अधिकृतको कार्यालयबाट स्वीकृत लिई सञ्चालन गर्न पाउने प्रावधान छ । निर्वाचन अधिकृतको अनुमति लिएर सवारी साधन नचल्ने स्थानमा बढिमा ४ ओटा घोडा प्रयोग गर्न पाइन्छ ।