-भीम उपाध्याय (पुर्वसचिव)
हामी कहाँ परम्परागत तरिकाका शौचालय त छन् । शौच नगरी त कोही पनि बसेको छैन । कुनै न कुनै रुपमा चलेकै छ । पानी नपिईकन कोही बाँचेको होला र ? पानी त खाइरहेकै होला ? दिसापिसाब सबैले गरेकै छन् । शौचालय र पानीको कुरा गर्दा के कुरा गरेको होला ? भन्छन् आजकल मान्छेहरु ।
पछिल्लो समय प्रविधिमा यत्ति धेरै विकास भइसकेको छ कि यसको कुरै नगरौं, तर स्यानिटेशनमा प्रविधिको प्रयोग खासै भएको थिएन । यसकारण सरसफाइमा पनि प्रविधिको उच्चतम प्रयोग गर्नुपर्छ भनेर बिल गेट्सले सन २०११ तिरै जे जे मा रिसर्च गर्न रुचि छ, निवेदन देऊ भनेर संसारभर आव्हान गरेको थियो । हाम्रो नेपालले पनि दिएको भए हुन्थ्यो तर दिएन ।
यो ६र७ बर्ष रिसर्च गरेर विभिन्न ठाउँमा प्रोटोटाइप मोडलहरु बनाएर हामीले हेर्यौं, मलाई पहिलो पटक अनुभव भयो कि मोबाइल फोन देखि सबै क्षेत्रमा यत्ति धेरै अत्याधुनिक प्रविधि आइसक्यो हामीले त्यसको प्रयोग पनि ग(यौं, तर सरसफाइमा भन्ने हो भने टोइलेट भित्रको सुविधा चिप्लो चाप्लो त भयो, तर त्यो टोइलेटमा हालेको चीज कहाँ जान्छ भन्ने कुरा कसैले मतलबै राखेनन् ।
बील गेट्स फाउण्डेशनले यो चीजमा एकदम ठूलो मार्केट छ भन्ने कुरा थाहा भयो । शौचालयमा लगानी गर्यो भने २२ खर्ब ३० अर्ब डलर बच्न सक्छ र यसको दोब्बर मार्केट छ भन्ने कुरा भएपछि पहिलो पटक एक्स्पो गर्यो ।
चाइना, जो सँग प्रविधि पनि छ, व्यापार पनि छ, पैसा पनि छ । जसले गरिदियो भने संसार एकैपटक जुरुक्कै उचालिन सक्छ । मलाई अब के लाग्छ भने अब बन्ने घरहरुमा स्मार्ट शौचालय जडान हुनेछन् । बैज्ञानिक प्राविधिमा जे – जे उपलब्धी भएको छ त्यसको प्रयोग चाहिं टोइलेटमा भएको देख्दा म पनि छक्क परें । हरेक प्रदर्शनी चाहिं अचम्म अचम्मको थियो ।
त्यो शौचालय मार्केटमा आउँदा नेपालमा किफायती हुन्छ कि हुँदैन ? त्यो हामीले मार्केटिङ गर्ने कुरा पनि होइन । तर मानिसको सेवा, स्वास्थ्यका लागि, खुसीयाली जीवनका लागि अपरिहार्य देखें ।
अब शौचालयमा ठूला ठूला प्रतिष्ठित व्यक्तिको संलग्नता नभएसम्म चाहिं नहुने नै भयो । स्वच्छ भारत अभियान चलाएका कारण मोदीको चर्चा संसारभर छ । बील गेट्सका कारणले गर्दा टोइलेट अब चर्चामा छ । उहाँकै कारण विण्डोज कम्प्युटरहरु हरु आए, फोनहरु आए । नत्र हामीले कम्प्युटर चलाउने कल्पना पनि गर्न सकिदैनथ्यो ।
हेर्नुहोस् अहिलेको कम्प्युटर कसैले सिक्दैनन्, चलाउँदा चलाउँदै सिकिने हो, स्मार्ट भनेको अचेल सिक्नै पर्दैन । हो शौचालय पनि त्यसरी नै आएको छ । अब कसरी सस्तो हुन्छ भन्ने चाहिं व्यवसायिक कुरा हो । मलाई लाग्छ यसमा बजार छ भन्ना साथ सस्तो हुन्छ ।
यसले गर्दा सबै कुरा स्वीचको भरमा, बटमको भरमा हुने भएपछि मानिसलाई दिसाजन्य लेदो व्यवस्थापन गरेर बस्ने, सेफ्टिक ट्याङ्क भरिने चिन्ताका दिन गए भन्छु म त । त्यो चाहिं विभिन्न अपसनहरु हुँदोहँदो रहेछ । नेपाल जस्तो सांस्कृतिक विविधता भएको ठाउँमा त्यो शौचालय सबैका लागि उपयोगी छ भन्न चाहिं सकिदैन । त्यसो भन्न थाल्यौ भने सबै यहाँ असफल हुन्छ, जस्तो सुकै स्मार्ट भएपनि ।
त्यसकारण मलाई लाग्छ, त्यो शौचालयमा कुनै न कुनै नेपालीपना चाहिं छिर्नुपरयो । मलाई लाग्छ, त्यहाँ यहाँको व्यापारी गएको भए । व्यापारीलाई त कहाँ के समावेश गर्दा राम्रो हुन्छ ? एकदम थाहा हुन्छ नि ? उद्योगीहरु गए त उहाँहरुले गर्नुहुन्छ नि ? त्यहाँ के कुरा पुगेन भन्ने कुरा त थाहा हुन्छ ।
एउटा कुरा चाहिं बिल गेट्स आफैले डब्बामा फ्रेस दिसा राखेर त्यसमा कति व्याक्टेरिया छ ? प्राविधिक रुपमा प्रमाणित गरेर देखाउनुभयो, बोलिदिनु भयो । दिसा प्याकिङ गर्ने मानिसलाई उहाँ धन्यबाद दिनुभयो । दिसा प्याक गर्ने मान्छे मेरो साइटमा थियो । त्यो युनिभर्सिटीको इन्भारोमेन्टल डिपार्टमेन्टको प्रोफेसर रहेछ । सयौं मुलुकका वातावरणबिद, बैज्ञानिक, नेताहरुको अगाडि दिसा राखेर छलफल गर्नु कम आँट हो त ? यो एक प्रकारको समर्पण मात्र होइन, यसमा व्यापार छ । पैसा छ, सम्भावना छ ।
हाम्रो पनि प्रधानमन्त्री तहमा यसरी नेपाल सफाइ अभियान नगर्ने हो भने अगाडि बढ्न सक्दैन । यसमा लिडरसीप नै चाहियो । बक्तव्य मात्र होइन, प्रधानमन्त्रीले नेतृत्व लिएर एउटा टोइलेट बनाउने सम्बन्धी आयोग बनाउने वा के गर्ने हो दबाब आजैबाट शुरु गर्नुपर्छ ।
आजसम्म शौचालयलाई हामीले सामान्य रुपमा लियौ । चर्चामा पनि ल्याएनौं । अब आयो, अब पनि गरेनौं भने नेपाल धेरै पछाडि पर्नेछ । नेपाल सबभन्दा फोहोरी, दिसामा बस्ने देश मध्येमा पर्छ है चाँडै । यो कुरा क्लियर छ । किनभने चाइना लाग्यो, भारत लाग्यो, बील गेट्स लाग्यो, मोदी लाग्यो, नेपालका प्रधानमन्त्री कहिलेको रेल र सेलको कुरा गरेर बस्नुहुन्छ । हवाईजहाज र पानी जहाजको कुरा गर्दा उहाँलाई शौचालयको कुरा गर्ने फुर्सद नै छैन । म भन्छु अबको चर्चा टोइलेटको गर्नुपर्ने भयो ।
*बिल गेट्स फाउण्डेशनले चीनमा आयोजना गरेको टोइलेट एक्स्पोमा पुर्वसचिव भिम उपाध्यायले व्यक्त गरेको विचार