पौष १८, भक्तपुर । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपां) का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रनिनिधिसभाका सांसद महेश बस्नेतले मुलुकको विकास र समृद्धिको नेपाल सरकार तथा मन्त्रालयले खटाएका कुनै पनि काम गर्दै जनताको सेवा गर्न अहोरात्र खटिने उद्घोष गर्नुभएको छ ।
जिल्लाको चाँगुनारायण नगरपालिकामा वडा नं। १ र ४ को सिमानामा पर्ने दुवाकोटमा ५७० रोपनी जग्गामा संघिय सरकारबाट विनियोजित रु ४० करोडको लागतमा निर्माणको प्रकृयामा रहेको अन्तराष्ट्रिय स्तरको आधुनिक वीर अस्पतालको विभिन्न समस्या तथा आवश्यकताको वारेमा भएको छलफलमा उहाँले भक्तपुरमा पहलकदमीको खाँचो तर पहलकदमी भएमा रकमको खाँचो नहुने उल्लेख गर्नुभयो ।
विकास निर्माणमा कुनै पनि समस्या उत्पन्न नहुने गरी आवश्यक छलफल, सुझाव तथा सहकार्य अहिलेको आवश्यकता रहेको औंल्याउँदै उहाँले भक्तपुरको विकास निर्माणको क्रममा आउने समस्या समाधान गर्न स्थानीयवासी तथा जनप्रतिनिधि तयार रहेको बताउनुभयो । आयोजना निर्माणको क्रममा भईपरि आउने समस्यालाई नै आधार बनाई निर्माणको प्रकृया रोक्नु नहुने बताउँदै उहाँले हरेक समस्या समाधान लिएर आउने स्पष्ट पार्नुभयो ।
सरकारको तथा मन्त्रालयलको स्पष्ट नीति तथा चाहनाका साथ अघि बढेमा भक्तपुरका जनप्रतिनिधि अहोरात्र खट्ने उल्लेख गर्दै उहाँले उक्त अस्पताल निर्माणको लागि विदेशी लगानी कर्ताले लगानी गर्न इच्छा व्यक्त गरेको जानकारी गराउनुभयो । लगानी कर्ताले उक्त स्थानमा लगानी गर्नुपूर्व सडक, खानेपानी, विद्युत तथा सरसफाईको विषयमा विशेष चासो देखाएको उल्लेख गर्दै उहाँले उक्त समस्याहरु समाधानको प्रकृयामा अघि बढिसकेको जानकारी गराउनुभयो ।
उक्त अस्पतालमा जाने सडकको लागि मनोहरा करिडोर महत्वपूर्ण सडकको रुपमा रहेको जसको लागि सहरी विकास मन्त्रालयको मातहतमा अधिकार सम्पन्न एकिकृत बागमती सभ्यताबाट ५५ करोड सडकमा विनियोजित भई काम भइरहेको जानकारी गराउनुभयो । उहाँले उक्त स्थानमा जाने पुल, खानेपानीको धेरै विकल्पहरुको काम भइरहेको साथै विद्युतको कुनै समस्या नहुने समेत स्पष्ट पार्नुभयो ।
अस्पताल क्षेत्र वरिपरिको बाटो, खानेपानी, सरसफाई लगायतको पुर्वाधारहरु निर्माण गर्न संघ, प्रदेश र स्थानीय सरकारले के कसरी योजनाहरु बनाएर जाने भन्ने सम्बन्धमा नेपाल सरकारको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका राज्यमन्त्री नवराज रावलको नेतृत्वमा सांसद बस्नेत, प्रदेश सभा सदस्य कृष्णलाल भडेल, जिल्ला समन्यव समितिका प्रमुख नवराज गेलाल, नगरप्रमुख सोम मिश्र, विर हस्पिटलका भि।सी।डि एण्ड शाह, सि डि ओ, एस पि, वडा अध्यक्षहरु लगातको टिमद्वारा प्रस्तावित विर हस्पिटल क्षेत्रको स्थलगत निरीक्षण गर्नुको साथै स्थानीय टोल, बासिन्दा र जनप्रतिनिधिहरुको राय, सल्लाह, सुझाव सहितको अन्तरक्रियात्मक कार्यक्रम गरेको छ ।