कांग्रेसका १२ केन्द्रीय सदस्यद्वारा यथाशिघ्र महाधिवेशन माग

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७५ पौष ५, बिहिबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

पौष ५, काठमाडौं । कांग्रेसका १२ केन्द्रीय सदस्यले शीघ्र महाधिवेशनको माग गरेका छन्। महासमितिलगत्तै १४ औं महाधिवेशनको प्रक्रिया अघि बढाइनुपर्ने उनीहरूको माग छ।

केन्द्रीय सदस्यहरू चन्द्र भण्डारी, धनराज गुरुङ, कमला पन्त, गगन थापा, बद्री पाण्डे, जीवन परियार, गुरुराज घिमिरे, प्रदीप पौडेल, कल्याण गुरुङ, रामकृष्ण यादव, रत्न शेरचन र किरण यादवले निर्वाचन समीक्षा र आगामी कार्यदिशाको सन्दर्भमा ८८ पृष्ठको लिखित धारणा बुधबार महासमिति बैठकमा प्रस्तुत गरेका हुन्।

‘देशमा ७ सय ५३ स्थानीय सरकार बने, ७ प्रदेश सरकार बनिसक्यो, १ सय ६५ संघीय क्षेत्र र ३ सय ३० प्रादेशिक क्षेत्र बने, वडाहरू नयाँ बनेका छन्,’ उनीहरूको भनाइ छ, ‘अहिलेको विधानअनुसार ७ प्रादेशिक समितिबाहेक हामी अहिले केही बनाउन सक्दैनौं । सबै तदर्थ समिति बनाएर चलाउनुपर्ने हुन्छ । यसले पार्टीलाई नवजीवन दिन सक्दैन, थप क्षति मात्रै हुन्छ।’

कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि समयमै १४ औं महाधिवेशन सम्पन्न गर्न महासमिति बैठकलगत्तै कार्यतालिका ल्याउनुपर्ने माग गरिरहेका छन् । पौडेलले पार्टी केन्द्रीय कार्यसमिति र अनौपचारिक बैठकमा निरन्तर भन्दै आए पनि सभापति शेरबहादुर देउवा यस विषयमा मौन छन्।

‘महासमिति बैठकबाट संशोधित विधान पारित गरी शीघ्र महाधिवेशनमा जानुपर्छ, साथै महासमितिले पार्टीलाई जुन कार्यक्रम दिन्छ, त्यसैलाई ग्रहण गर्दै उपयुक्त बनाएर पार्टीलाई हाँक्छु भन्ने नेतृत्व पनि पार्टीले पाउँछ,’ १२ केन्द्रीय सदस्यको सामूहिक माग छ, ‘अहिलेको उचित बाटो भनेको महासमितिलगत्तै १४ औं महाधिवेशनको तालिका बनाएर काम गर्नु हो।’

पहिलो पुस्ताको नेतृत्व शिथिल र यथास्थितिवादी रहेको भन्दै परिवर्तनको मुद्दासमेत उनीहरूले उठाएका छन् । ‘अहिलेकै नेतृत्वको निरन्तरता खोज्नु जनादेश र मतादेशलाई नबुझ्नु हो,’ उनीहरूले भनेका छन्, ‘कस्तो नेतृत्व चयन गर्ने भन्ने अन्तिम अधिकार कांग्रेस कार्यकर्तामा निहित छ र यसको निक्र्योल महाधिवेशनले गर्नेछ।’

उनीहरूले नेतृत्व चयन एजेन्डाका आधारमा हुनुपर्ने माग अघि सारेका छन् । ‘सबै किसिमका अतिवादसँगको संघर्षले थाकेको नेतृत्वलाई सत्ताको शीतल छहारीले शिथिल र यथास्थितिवादी बनाइदिएको छ,’ उनीहरूको भनाइ छ, ‘पार्टीको चुस्त संगठन चलाउन प्रस्ट सैद्धान्तिक खाका कोर्‍यौं तर त्यसलाई चलाउने गतिशीलता नेतृत्वमा छैन । नेतृत्व यथास्थितिवादी छ भने संगठन कसरी चलायमान हुन्छ?’

पार्टीभित्र ‘इन्ट्री’ को व्यवस्था भए पनि ‘एक्जिट’ प्रणाली नहुँदा नेतृत्वको विकास हुन नसकेको उनीहरूको ठम्याइ छ । ‘०४८ सालयता जसरी विचार र संगठनमा ढोका बन्द भए त्यसरी नै नेतृत्वमा रहेका पुराना मान्छेको स्वाभाविक बहिर्गमन र नयाँ मान्छेको आगमन नहुँदा एजेन्डा, विचार र क्षमताको दृष्टिले पार्टी जमेको पोखरीजस्तो भएको छ,’ उनीहरूको धारणा छ।

ताजा अपडेट

खोजी गर्नुहोस