फागुन १५,काठमाडौँ । पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीको ताप्लेजुङमा भएको हेलिकप्टर दुर्घटनामा निधन भएको छ ।
२०७४ चैत २ गते मन्त्रीको पद तथा गोपनियताको सपथ लिँदै मन्त्रालयको जिम्मेवारी सम्हालेका अधिकारीको बुधबार भएको हेलिकप्टर दुर्घटनामा निधन भएको हो । पर्यटन र विमानस्थल सुधारका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेका अधिकारीको विमानस्थल सम्भाव्यता अनुगमन गर्न जाँदा नै निधन हुन पुग्यो । मन्त्री पद सम्हालेको ११ महिना बित्दै गर्दा मन्त्री अधिकारी मंगलबार तेह्रथुमको चुहानडाँडा विमानस्थलको सम्भाव्यता अध्ययन गर्न जानुभएको थियो । फर्कने क्रममा उनको हेलिकप्टर दुर्घटनामा परि निधन भएको हो ।
२०२६ वैशाख २२ गते कास्कीको भरतपोखरी गाविस जामुनाबोटमा आमा लक्ष्मी अधिकारी र पिता इन्द्रप्रसाद अधिकारीको जेष्ठ सुपुत्रको रुपमा रविन्द्र जन्मिएका थिए ।
गाउँकै ब्रह्मज्योति प्रावि शान्ति पंधेरा गैरागाउँबाट प्राथमिक शिक्षा र शान्ति उदय मावि (हालको उच्च मावि) बरपाण्डेथुमबाट माध्यामिक शिक्षा प्राप्त गरेका थिए । माध्यमिक विद्यालयका शिक्षक रहेका बुवाका कारण पनि उनलाई शिक्षा हासिल गर्न सहज भएको थियो ।
सानै उमेरदेखि राजनीतिक गतिविधिमा चासो राख्ने अधिकारी विद्यालयबाटै अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियनको राजनीतिमा लागेका थिए । यसका साथै रेडक्रस तथा क्लबमा संलग्न हुँदै सामाजिक काममा सक्रिय रहेका थिए ।
विद्यार्थीका लागि निःशुल्क कोचिङ कक्षा, पुस्तकालय, सरसफाइ, खेलकूद, सांस्कृतिक कार्यक्रम, नाटक, प्रहसनलगायतका मध्यमबाट राजनितिक जागरण सिर्जना गर्न सफल अधिकारी हाइस्कुले जीवनमा विद्यालयका जेहन्दार, लगनशील अध्ययनशील, र अनुशासित विद्यार्थी हुनुहुन्थ्यो । अधिकारीले विद्यार्थी जीवनमा आमा गीति नाटक तथा प्रगतिशील सांस्कृतिक कार्यक्रममा पनि भाग लिएका थिए ।
विद्यार्थी राजनीति र उच्च शिक्षा
प्रवेशिका उत्तीर्ण गरेपछि अधिकारी वन विज्ञान अध्ययन संस्थानमा भर्ना भएका थिए। तर केही समयपछि २०४२ सालमा पृथ्वीनारायण क्याम्पस पोखरामा अध्ययन सुरू गरेका थिए । २०४४ सालमा अनेरास्ववियू पृथ्वीनारायण क्याम्पस कमिटीको अध्यक्ष हुनुभएका अधिकारी त्यसपछि राजनीतिमा छलाङ मार्दै अघि बढेका थिए ।
२०४५ सालमा पृथ्वीनारायण क्याम्पसको स्ववियू सदस्य, २०४५ सालमा नै अनेरास्ववियू कास्की जिल्ला कमिटी अध्यक्ष, २०४७ सालमा गण्डकी अञ्चल अध्यक्ष तथा अनेरास्ववियू केन्द्रीय सदस्य र २०४९ सालमा पृथ्वीनारायण क्याम्पस पोखराको अध्यक्ष बन्न सफल भए ।
२०५३ सालमा आइपुग्दा अधिकारीले त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पस कीर्तिपुरको स्ववियू सभापतिमा निर्वाचित हुँदै आफ्नो राजनीतिक मैदान फराकिलो बनाउन सफल रहे । २०५३ सालमा नै स्ववियू काउन्सिल नेपालको संयोजक निर्वाचित भएका अधिकारी २०५६ सालमा अनेरास्ववियूको केन्द्रीय अध्यक्ष बनेका थिए ।
त्रिभुवन विश्वविद्यालयबाट व्यवस्थापनमा स्नातकोत्तर गरेका अधिकारीले ‘संविधान सभा लोकतन्त्र र पुनर्संरचना’ र ‘समृद्द नेपाल’ नामक दुई वटा पुस्तक पनि प्रकाशित गरेका छन । विगत दुई दशकदेखि उनको अनुसन्धान र राजनीतिक लेखहरु विभिन्न सञ्चारमाध्यममा प्रकाशित भएका छन् ।
२०४५ मा १ वर्ष माध्यमिक विद्यालयको शिक्षकसमेत बनेका अधिकारीले मन्त्री हुनु अघिसम्म पनि विभिन्न क्याम्पसहरुमा अतिथि शिक्षकको रुपमा अध्यापन गर्न पुग्थे ।
विद्यार्थी आन्दोलन र जेल
पञ्चायत विरोधी २०४६ को जनआन्दोलनमा क्रियाशील अधिकारीले पञ्चायतकालमा पटक–पटक गरी ६ महिना जेल र हिरासतमा बिताएका थिए । पोखरामै रहेर विद्यार्थी आन्दोलनको मोर्चा सम्हालेका अधिकारीले सफल नेतृत्व गरेका उनले २०४६ को परिवर्तनपछि विद्यार्थी आन्दोलन रचनात्मक र शैक्षिक मुद्दामा केन्द्रित हुनु पर्छ भन्ने विचार राखे । अधिकारी पृथ्वीनारायण क्याम्पसमा त्यसलाई कार्यान्वयनमा ल्याउन सफल समेत भए ।
त्रिभुवन विश्वविद्यालय केन्द्रीय क्याम्पसको स्ववियू सभापति हुँदा पुस्तकालय, शैक्षिक वातावरण, शैक्षिक गुणस्तर, खेल मैदान निर्माण, प्रवेश परीक्षा, वरिष्ठ प्राध्यापक हरुको सम्मानजस्ता रचनात्मक कार्यक्रम सञ्चालन गरेर लोकप्रियता कमाउनु भएका अधिकारीले विश्वविद्यालयमा निरन्तर प्राज्ञिक बहस चलाउने काम पनि गरेका थिए । अर्थशास्त्र विभागका प्राध्यापक टीपी चौधरीलाई वरिष्ठ प्राध्यापकको उपाधि उहाँकै पहलमा सम्भव भएको थियो ।
अधिकारीले विद्यार्थी जीवनमा नै ‘हत्यारा बस्ने दरबारमा होइन, जेलमा हो’ भन्दै पाँच लाख २३ हजार हस्ताक्षर दरबारमा बुझाउने अभियानको पनि अगुवाइ गरेका थिए ।
यातायातलगायत सार्वजनिक क्षेत्रमा ३३ प्रतिशत विद्यार्थी सहुलियतको आन्दोलनको प्रमुख अगुवाको रुपमा विद्यार्थी आन्दोलनमा उनको नाम नमेटिने गरी लेखिएको छ ।
युवाका प्यारा नेता, विकासको भोका
नेता अधिकारी बिद्यार्थी राजनितिबाट आएका कारण पनि उनी खासगरी समग्र युवाको ढुकढुकी नै थिए । मुलुक बनाउन अधिकारी जस्तो राजनितिक व्यक्तित्व हुनुपर्छ भन्दै युवाहरु बहसमा उत्रन्थे । युवाको गुनासो सुन्ने ,युवालाई राजनितिमा लाग्न प्रेरित गर्ने र मुलुकको विकास युवाको सक्रियतामा मात्रै सम्भव छ भन्ने सोच राख्ने युवा नेताको रुपमा परिचित थिए । उनले आफ्नो विभिन्न पदिय जिम्मेवारी सम्हाल्दा विकासलाई खास मुद्धा बनाए । विकासमा उनको गहिरो अभिरुची र सक्रिय चासो थियो। उनले नेपालको विकास र समृद्धि समेटेर पुस्तक नै लेखेका थिए।
नेकपामा अधिकारी भविष्यमा सम्भावना भएका उदयमान नेता थिए। उनको उत्साह र ऊर्जा धेरैका लागि प्रेरणा र डाहाको विषय थियो।
पार्टी राजनीति
२०३९ सालमा पार्टीको रेडगार्ड अर्गनाइजेसनमा संगठित हुनु भएका अधिकारी २०४० मा इलाका पार्टी कमिटीको राजनीतिमा संलग्न भएका थिए । २०४५ मा पार्टीको संगठित सदस्यता लिनुभएका अधिकारीले २०४६ र ४७ मा पोखरा नगर कमिटी र २०४८ मा पार्टी जिल्ला कमिटीमा र त्यसपछि लगातार जिल्ला कमिटीमा सक्रिय रहँदै आएका थिए ।
२०६२/६३ को अन्दोलन र त्यस अगाडिको प्रतिगमनविरुद्दको आन्दोलनमा पटक–पटक गरी अधिकारीले थप पाँच महिना जेल जीवन बिताएका थिए ।
पार्टीको राष्ट्रिय परिषद सदस्य, अञ्चल कमिटी सदस्य भएर काम गरी सकेका अधिकारी पछिल्लो समय तत्कालीन एमाले र माओवादी केन्द्र एकतापछि पार्टीको केन्द्रीय सदस्य भएका थिए ।
लगातार तीन पटक निर्वाचित
२०६४ र २०७० सालको संविधानसभा सदस्यमा प्रत्यक्षतर्फ कास्की क्षेत्र नम्बर ३ बाट निर्वाचित भएका थिए । संविधानसभा सदस्य हुँदा संविधान निर्माण तथा सार्वजनिक लेखा समितिमा रहेर खेलेको भूमिकाले अधिकारीको व्यक्तिगत जीवन झनै उचो बनाएको थियो ।
त्यसैले २०७४ मा भएको प्रतिनिधिसभा निर्वाचनमा पनि अधिकारी भारी मतले निर्वाचित हुन सफल भएका थिए ।
कास्की क्षेत्र नं.२ बाट निर्वाचित भएका अधिकारीको क्रियाशीलताकै कारण पछिल्लो पटक संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय सम्हाल्ने अवसर पाएका थिए ।
विकासका लागि राजनीति भन्ने मान्यता बोकेका अधिकारी विकासप्रेमी नेताको रुपमा पनि परिचित थिए ।
सहयोग – http://rabindraadhikari.com