फागुन २६,काठमाडौँ । राष्ट्रिय जनता पार्टी नेपालले सरकारकै गतिविधिका कारण मुलकमा द्वन्द्वको खतरा बढेको बताएको छ । उसले प्रधानमन्त्रीले पछिल्लो समय आफ्नो पार्टीप्रति संकेत गर्दै दिएका अभिव्यक्तिले सरकार आफै द्वन्द्व निम्त्याउन लागि परेको आरोप लगाएको हो ।
राजपा नेपाल अध्यक्ष मण्डलका अध्यक्ष महेन्द्र यादवले आइतबारको संसद बैठलाई सरकारलाई दिएको समर्थन फिर्ताको जानकारी दिँदै सरकारले नै द्वन्द निम्त्याएको बताएका हुन् । त्यस्तै राजपाले टीकापुर घटनाको छानविन गर्न गठित गिरिशचन्द्रलाल नेतृत्वको प्रतिवेदन सार्वजनिक नगर्नुमा सरकारले आफ्नो गल्ती लुकाएको भन्दै उक्त प्रतिवेदन सार्वजनिक गर्न सभामुखलाई सरकारलाई रुलिङ गर्न माग गरेको छ । राजपाको मागपछि सभामुख महराले सरकारलाई प्रतिवेदन सार्वजनिक गर्न रुलिङ गरेका थिए ।
त्यसपछि बोलेका सांसद यादवले सरकारले यसअघि आफुसँग गरेका सहमति कार्यान्वयन नगरेकाले सरकारलाई दिएको समर्थन फिर्ता लिएको जानकारी गराए । ‘सरकारले हामीसँग सम्वाद नै गर्न चाहेन । त्यसपछि हामी बाध्य भएर सरकारलाई दिएको समर्थन फिर्ता गर्न बाध्य भयौ’ यादवले भने, ‘संघीयताको मर्मअनुसार प्रदेशलाई सरकारले अधिकार दिएन । शान्तिसुरक्षा कायम भएन, जताततै स्थिति लथालिङ्ग भएको छ ।’
उनले सिके राउतसँग भएको सहमति र जनमत संग्रहका विषयमा सरकारले जवाफ दिनुपर्ने भन्दै यदि जनमत संग्रह स्विकारेको हो भने देश द्वन्द्वमा जाने चेतावनी समेत दिए । उनले देशको अखण्डता जोगाउने हो भने देशका शक्तिहरुसँग गरेका सम्झौताहरुको आधारमा सरकार अघि बढ्नुपर्ने बताए ।