फागुन २७, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय अखन्डताका विषयमा जनमतसंग्रह हुनै नसक्ने प्रस्ट्याएका छन् ।
सोमबार सिंहदरबारमा राष्ट्रिय सुरक्षा परिषदको १८औं वार्षिकोत्सवमा प्रधानमन्त्री ओलीले राजनीतिक विषयमा जनमतसंग्रह हुनसक्ने भएपनि राष्ट्रिय अखन्डता, सार्वभौमसत्ताबारे जनमतसंग्रह नहुने बताएका हुन् ।
‘पृथकतावाद सानो भएपनि त्यो घातक हुन्छ । त्यसैले यसलाई सरकारले महत्व दिएर नै निस्तेज पारेको हो’–उनले भने ।
उनले राष्ट्रिय अखन्डता सुदृढ पार्न खोज्दा केही व्यक्तिमा देखिएको छट्पटिप्रति आफू आश्चर्यचकित भएको पनि बताए ।
देश टुक्रा पार्छु भन्नेलाई राष्ट्रिय अखन्डता कायम राख्ने अभियानमा सरिक गराउँदा चिन्ता होइन, गर्वगर्न प्रधानमन्त्री ओलीले सुझाए ।
देशको अखन्डता, सार्वभौमसत्ता स्वाधीनताको रक्षा सरकारले गर्ने भन्दै उनले ‘पृथकतावाद अन्त्य हुँदासमेत छट्पटी भएको छ । कति भुटभुटिएको ? पानीबिनाको माछाजस्तो’ भन्ने टिप्पणी गरे ।
विभिन्न आवरणमा चन्दा लिने, लुटपाट गर्ने कुरा सरकारलाई मान्य नहुने चेतावनी उनले दिए ।
‘देशको शान्ति–सुरक्षा र अमनचयन खल्बल्याउने कुनै गतिविधि सरकारलाई मान्य हुँदैन’–प्रधानमन्त्री ओलीले भने–‘कोही मृत संस्था जीवित गराउने सपना देख्छन् । कोही क्रान्तिका नाममा जनता अल्मल्याउने कुरा गर्छन् । ती दुवै कुराहरुलाई निस्तेज पारिन्छ ।’
देशको अखन्डता, सार्वभौमसत्ताको रक्षा र राष्ट्रिय सुरक्षाका लागि सुरक्षा परिषदले निर्वाह गरेको भूमिकाको प्रधानमन्त्री ओलीले प्रशंसासमेत गरे ।