प्रधानमन्त्री ओलीसँग नियमित छलफल भइरहेकाे छ : अध्यक्ष दाहाल

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०७५ फागुन २८, मंगलबार (६ साल अघि)
  • २३ पटक पढिएको
Post Thumbnail

फागुन २८, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका अध्यक्ष पुष्पकमल दाहालले नागरिकका आकाङ्क्षा पूरा गर्न प्रधानमन्त्री केपी शर्मा ओलीसँग नियमित छलफल भइरहेको बताएका छन् । राष्ट्रिय कृषि आयोगले सोमबार आयोजना गरेको अन्तर्राष्ट्रिय सम्मेलनको समापन कार्यक्रममा उनले विकासका काममा प्राथमिकता छुट्याएर गर्नका लागि छलफल भइरहेको बताएका हुन् ।

सरकार गठनको पहिलो वर्षमा कतिपय महत्वपूर्ण काम भएको उनले औँलाए । प्रधानमन्त्री रोजगार कार्यक्रमको सुरुवातसँगै संविधानको कार्यान्वयनका लागि विभिन्न कानून निर्माण र छिमेकीसँगको सम्बन्ध सुधारका काम यो एक वर्षमा भएको उनले बताए ।

उनका अनुसार सरकारले किसानका जीवनमा प्रत्यक्ष असर गर्ने के भयो भन्ने कुरा सबैभन्दा महत्वपूर्ण रहेको छ । उन भने, “आगामी बजेटमा जनताका गुनासो सम्बोधन गरेर अघि बढ्न छलफल भइरहेको छ ।”

प्रधानमन्त्री ओलीले सरकारले कृषि क्षेत्रका सुधारका लागि सबैभन्दा पहिले शिक्षामा लगानी बढाउनुपर्ने आवश्यकता औँलाए । शिक्षामा आमूल परिवर्तनले मात्रै कृषिमा आधुनिकीकरण, उत्पादन वृद्धि र रोजगारी बढ्ने उनले बताए ।

सरकारले शिक्षा, विज्ञान र प्रविधिका क्षेत्रमार्फत कृषिको विकास गर्न सक्छ । उनले भने, “कृषिमा आधारित उद्योगले मात्रै आर्थिक विकास सम्भव छ ।” पूर्वमन्त्री हरिबोल गजुरेलले कृषिलाई कसरी सम्मानित पेशाका रुपमा स्थापित गर्ने चुनौतीका रुपमा रहेको औँलाए ।

पूर्वमन्त्री गणेश साहले एउटा किसानको आम्दानी बढ्दा त्यसको बहुआयामिक प्रभाव परिवार र समुदायमा पर्ने बताए । पूर्वमन्त्री हरिप्रसाद पराजुलीले खाद्य सुरक्षा किसानको अधिकारसँगै उपभोक्ताको अधिकारसँग जोडिएको बताए ।

पूर्वमन्त्री शान्ता मानवीले निजामती कर्मचारी राजनीतिक परिवर्तनसँगै बदलिन खाँचो रहेकामा जोड दिए । आयोगका अध्यक्ष चित्रबहादुर केसीले आयोगले खाद्य सम्प्रभूता र किसान अधिकारको विषयमा अन्तर्राष्ट्रिय स्तरमा वकालत गर्नका लागि सम्मेलन महत्वपूर्ण भएको बताए । दुई दिनसम्म सञ्चालन भएको सम्मेलनमा ११ देशका झण्डै २०० सहभागी रहेको आयोजकले जनाएको छ ।
रासस

ताजा अपडेट

खोजी गर्नुहोस