भाद्र ७ अर्घाखाँची । सरकारका प्रवक्ता एवम सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राजनीतिक अधिकार प्राप्तिको लडाई पूरा भएकाले अबको समय उत्पादन, निर्माण र विकासको रहेको बताएका छन। अर्घाखाँचीको शितगंगा नगरपालिका ३ ठाँडामा शनिबार रेडियो शितगंगाको उद्घाटन गर्दै उहांले बर्तमान सरकारले मुलुकमा समृद्धिको जग बसालिसकेको र यसको परिणाम अबको केही समयमा देखिने बताए ।
मन्त्री बास्कोटाले उत्पादनका क्षेत्रहरुलाई बलियो बनाउँदै उत्पादकत्व बढाउने र त्यसैका माध्यमबाट समृद्धिका आधारहरुलाई साकार पारिने बताउनुभयो । त्यसो गर्न नसके उपलव्धिहरुको पनि रक्षा हुन नसक्नेतर्फ सरकार सचेत रहेको उनले उल्लेख गरे।
सरकारले तय गरेका समृद्धिका आधारहरुलाई साकार पार्न निजी र सहकारी क्षेत्रसँग पनि सहकार्य गर्ने गरी योजना बनाइरहेको उनले जानकारी गराए ।
मन्त्री बास्कोटाले दशकौं लामो संकल्पलाई यही सरकारले साकार पार्ने गरी काम गरिरहेको र विरोधीहरूले भ्रम सिर्जना गरेको जस्तो सुतेर नबसेको प्रष्ट पारे । आर्थिक विकासको क्षेत्रमा पनि सरकारले उल्लेख्य प्रगति गर्ने वातावरण तयार पारिसकेको उहांले जानकारी गराए ।
प्रबक्ता बास्कोटाले विकास निर्माणका कामहरुलाई प्रभावकारी बनाउन निर्देशन दिंदै विकासका काममा कुनै पनि प्रकारको राजनीति गर्न नहुने बताउनुभयो । नेकपाले जनादेशको उच्च सम्मान गर्ने उल्लेख गर्दै उनले जनचाहना अनुरुप कै कामहरू अगाडि बढाइएको बताए ।
आमसञ्चारका माध्यमलाई अझ जवाफदेही, जिम्मेवार र पारदर्शी बनाइने बताउँदै उनले हाल प्रस्तावित विधेयकले आमसञ्चारलाई नै बलियो बनाउने प्रष्ट पारे । ‘भ्रामक खबर छाप्ने, पूर्वाग्रह राख्ने, असत्य मात्रै लेख्ने र त्यहीँ असत्यलाई पुष्टि गर्न कैयन झुटहरू बोल्ने र लेख्नेहरू पनि छन्’ उनले भने, ‘यस्तै गलत काम गर्नेहरुलाई जवाफदेही बनाउनका लागि नै विधेयक ल्याउन लागिएको हो ।’
कार्यक्रममा अर्घाखाँची जिल्लाका जनप्रतिनिधि चेतनारायण आचार्य, रामजिप्रसाद घिमिरे,जालापा भुसाल,नजिर मिया लगायतले आफ्नो भनाई राखेका थिए।