मंसिर ६,कास्की । कास्की निर्वाचन क्षेत्र नम्बर २ मा हुने उपनिर्वाचनको चुनाव प्रचारको क्रममा कांग्रेस सभापति शेरबहादुर देउवासहित शीर्ष नेता पोखरामा आएका छन्। पोखरामा शुक्रबार सभापति देउवा, वरिष्ठ नेता रामचन्द्र पौडेल, महामन्त्री शशांक कोइराला, रामशरण महत, शेखर कोइराला, डा. मिलेन्द्र रिजाललगायत शीष नेता भोट माग्दै पोखराको चिप्लेढुंगाबाट न्युरोड हुँदै पृथ्वीचोकसम्म पुगे।
शीर्ष नेताको सहभागितामा विभिन्न पाँच ठाउँमा कोणसभा भएको थियो। सभापति देउवाले सरकारले नागरिकको अधिकार खोसेर प्रजातन्त्रलाई नै कमजोर बनाउन लागेको आरोप लगाए।
पोखरा ८ सिमलचौरको चुनावीसभालाई सम्बोधन गर्दै नेपाली कांग्रेसका युवा नेता गगन थापाले केपी ओली नेतृत्वको सरकारले कानुन बनाएरै निरंकुश बन्ने गरी अघि बढेको बताए। कास्की २ को उपनिर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै नेता थापाले सरकारले वाक स्वतन्त्रता हनन् गर्ने गरी कानुन संसदबाट पास गर्न लागेको बताए। मंसिर १४ गते कास्कीमा उपनिर्वाचन हुँदैछ।
नेता थापाले सरकार निरंकुश बन्दै गएको आरोप लगाए। राष्ट्रपति, प्रधानमन्त्रीबारेमा सामाजिक सञ्जालमा लेखेकै भरमा प्रहरीले समाउने र जेल हाल्नेसम्मको कानुन सरकारले ल्याउन लागेको उनले आरोप लगाए।
‘सरकारले देशमा जो मान्छेले श्री ६ विद्याभण्डारीकी जय, श्री ५ केपी ओलीकी जय, श्री ३ प्रचण्डकी जय भन्ने छन् उनीहरुमात्र जेल जान नपर्ने कानुन ल्याउँदैछ’, उनले भने, ‘खराब कार्यको जसले विरोध गर्ने छ ऊ जेल जानुपर्ने गरी कानुन बनाउन लागेको छ।’
सरकारले कानुन बनाएर निरंकुशतातर्फ जान लागेको उनले अरोप लगाए। ‘राजा ज्ञानेन्द्रले कानुन मिचेर निरंकुशता लादेका थिए। फरक मत राख्न पाउनकै लागि ज्ञानेन्द्रका विरुद्ध आन्दोलन गरेर गणतन्त्र ल्याएको हो’, उनले भने
शुक्रबार साँझ पोखराको पृथ्वीचोकमा र्यालीपछि आयोजित कोणसभामा कांग्रेसका शीर्ष नेताको सहभागी रहे पनि नेता डा। मिलेन्द्र रिजाल र कास्की क्षेत्र नम्बर २ का कांग्रेस उम्मेदवार खेमराज पौडेलले मात्र सम्बोधन गरेका थिए। कार्यक्रममा शीर्ष नेताहरुले एकताको सन्देश दिने एकै ठाउँमा उभिएर चुनावीसभामा सहभागीलाई अभिवादन गरेका थिए। उपनिर्वाचनमा नेकपाबाट विद्या भट्टराई चुनवी मैदानमा छन्।