महेश बस्नेतको टिप्पणी : जनताविहिन मंचहरुमा कांग्रेस, नेमकिपा जलप लगाएको सुन

  • अनलाइन केन्द्र
  • / राजनीति /
  • २०७६ मंसिर ११, बुधबार (५ साल अघि)
  • ३४ पटक पढिएको
Post Thumbnail

मंसिर ११,भक्तपुर । नेपाल कम्युनिष्ट पार्टी (नेकपा०का केन्द्रीय सदस्य, पूर्वमन्त्री तथा प्रतिनिधिसभाका सांसद महेश बस्नेतले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले कांक्रा चोरेर आफु खाने अनि वियाँ साथीको मुखमा टाँसिदिएर यसले खायो भनेर दोष देखाउने गरेको बताएका छन ।

आगामी मंसिर १४ गते हुने भक्तपुर क्षेत्र नं. १ (क)मा प्रदेश सभाको उपनिर्वाचनको चाँगुनाराण्या नगरपालिका वडा नं. ४ मा नेकपाका उम्मेदवार देवी प्रसाद ढकाल (डिपी)लाई विजयी गराउन नेकपा भक्तपुरद्वारा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले जनता विहिन मंचहरुमा कांग्रेसले सरकारलाई आरोप लगाउने गरेको बताउँदै चुनावको वेला कांग्रेसले म यो गर्छु, त्यो गर्छु भन्ने तर जनताको इच्छा र चाहना अनुसारको विकास र समृद्धिको कामको सिनको समेत नभाच्ने गरेको उल्लेख गरे ।

उनले भने, ‘कांग्रेसले चुनावको बेला आकाशको तारा झार्छु भन्ने अनि चुनावमा जितेपछि जनताको बङ्गरा मात्र झार्ने गरेको भक्तपुरवासी जनताको सामु छर्लङ्ग छ । अहिले नेकपाले विजयी गरेपछि देशको विकास र समृद्धिले तिव्रता पाएको छ । त्यसैले नेकपालाई मतदान गर्नु नै भाग्य र भविष्य निर्धारण गर्नु हो ।’

कांग्रेस तथा नेपाल मजदुर किसान पार्टी सुनभन्दा कम छैन हराएमा डर छैन भन्ने मात्र रहेको तर नेकपा २४ क्यारेट सुन रहेको उल्लेख गर्दै उनले नेपालको इतिहासमा नेपालको भूमि भारतलाई बेच्ने पार्टी कांग्रेस भएको उदाहरण सहित प्रस्तुत गरे । उनले भने, ‘कांग्रेसले नेपाको इतिहासमा नेपाली भूमि, उद्योग, कलकारखाना कति भारतलाई बेच्यो ? यो सवै कुरा जनतालाई स्पष्ट छ । कांग्रेसले गरेका राष्ट्रघाती कालो कर्तुतहरुको बारेमा हामी जुनसुकै समय डाइलग गर्न तयार छौं । तर नेकपाका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले सिमा रक्षाको निम्ती हिम्मतका साथ भारतीय सेनालाई लिपुलेकबाट हटाएर नेपाली भूमि नेपालमा नै फिर्ता गर्छौ भनि उद्घोष गर्नुभएको छ । नाकावन्दीको समयमा चुइक्क आवाज निकाल्न नसक्ने कांग्रेसले अहिले आएर झुटो राष्ट्रवादी हुने घृणीत प्रयास गरेको छ ।’

निवर्तमान सभामुख कृष्ण बहादुर महरालाई पदवाट राजिनामा गर्न लगाई अनुसन्धानलाई बाटो खुल्ला गन उच्च नौतिकता देखाउने पार्टी नेकपा मात्र भएको उल्लेख गर्दै उनले भने, ‘भ्रष्टाचारी खुमबहादुर खड्का जेलबाट बाहिर निस्कदा दुई सय केजीको माला लिएर स्वागत गर्न जाने कांग्रेसले आज भ्रष्टाचारका ठूला ठूला आदर्शका कुरा गरेर भ्रम छर्ने काम गरेको, २१ जना व्यक्तिलाई जिउँदै जलाई मार्नेलाई सांसद मन्त्री बनाई हत्यारालाई संरक्षण गरेको छ । यस्ता भ्रष्टाचारी, दलाल, हत्यारा लगायतलाई संरक्षण गरी कांग्रेसले जनतालाई आखाँमा कसिङ्गर लगाउन खोज्दै आदर्श तथा लोकतन्त्रको ठूला कुरा गर्ने गरेको छ । यो कुरा जनताले स्पष्ट रुपमा बुझ्नुभएको छ । वर्तमान समय संविधा संशोधन नभई कार्यान्वयनको भएकाले संविधानको कार्यान्वयनको सवैभन्दा ठूला बाधा कांग्रेसले गरेको छ ।’

भक्तपुरमा प्रदेश नं. ३ को राजधानी बनाउने पर्छ भन्दा राप्रपा तथा नेमकिपाको बैसाखी टेकेर हेटौंडा पुर्याएको उल्लेख गर्दै पूर्वउद्योगमन्त्री समेत रहेका सांसद बस्नेतले सपना र चाहना समेत देख्न नसक्ने कांग्रेस समृद्धिको बाधक भइरहेको उल्लेख गरे । पानीजहाज कोशी र नारायणी नदीमा सञ्चालन शुरु भइसकेको जानकारी गराउँदै उनले नेपालमा रेलका लागि चीनले डिजाईनको काम शुरु भएको समेत जानकारी गराए ।

कांग्रेस र नेमकिपाको समाउने हाँगो पनि नभएको र टेक्ने धर्ती पनि नभएको उल्लेख गर्दै उनले कांग्रेको भातृ संगठन नेपाल विद्यार्थी संगठनले पानी जहाज र रेलको अनौतिक ढंगले प्रचारबाजी गरेको उल्लेख गरे । उनले भने, ‘भक्तपुरमा पानी जहाज त आउने सम्भावना छैन । तर मनोहरा र हनुमन्ते नदीको कोरिडोर निर्माणको क्रममा छ । मनोहरा र हुनुमन्तेमा बच्चा खेल्ने डुङ्गा बनाएर ल्याउनुस्, हामी चलाउन दिन्छौं ।’

भक्तपुरमा ठूला ठूला चारै तर्फ जाने सडकहरु गरी ७२ वटा निर्माणको क्रममा रहेको जानकारी गराउँदै उनले भक्तपुरको सडकको विकासमा कांग्रेसले नेकपाको जग्गा भएको ठाउँमा मात्र पुर्याएको आरोप लगाएको बताउँदै भक्तपुरका सवै ठाउँमा सडक विस्तार हुने र सवै ठाउँमा जनता नेकपा हुने चाँही स्पष्ट रहेको बताए । उनले भने, ‘नेकपाको जग्गा छ कि छैन मलाई थाहा छैन, तर अब सडक बनेका आसपासका सवै जनता नेकपा चाही हुँदैछन् ।’

भक्तपुर क्षेत्र नं. १ को अभिभावको रुपमा आफुले समेत काम गर्ने उद्घोष गर्दै सांसद बस्नेतले नेकपाको विजयीसँगै चाँगुनारायणको विकासले व्यापक तिव्रता पाउने उल्लेख गरे । इन्जिनियरिङ कलेज नगरपालिकाले सञ्चालन गरेसँगै प्रत्येक वडाका कम्तिमा १० जनाले निशुल्क पढ्न पाउने व्यवस्था हुने बताउँदै उनले चाँगुनारायण नगरपालिकाका प्रत्येक वडामा अब एक वटा ठूला सडक बन्ने समेत जानकारी गराए ।

नेकपाको उम्मेदवार गर्हुँगो भएको तीनै तहमा विकासको पुलको रुपमा काम गर्न सक्ने भएको उल्लेख गर्दै उनले आम भक्तपुर क्षेत्र नं. १ (क)का आम जनतालाई विकास र समृद्धिको सारथीको रुपमा सूर्य चिन्हमा मतदान गरी नेकपाका उम्मेदवार ढकाललाई विजयी गराउन समेत अपिल गरे ।

उम्मेदवार ढकालले आफु निर्वाचित भएमा आगामी तीन वर्षमा भक्तपुरका सवै ठूला सडकहरु कोलोपत्रे गरीसक्ने प्रतिवद्धता जनाए । भक्तपुर नगरकोट सडक आगामी तीन महिनाभित्रमा कालोपत्रे गराई सक्ने उद्घोष गर्दै उनले आफ्नो निर्वाचन क्षेत्रमा सडक, ढल, खानेपानी, रोजगारीलगायतका कार्यहरु जनताको चाहना र आवश्यकता अनुसार तिव्र गतिका साथ काम गर्ने प्रतिवद्धता जनाए ।

कार्यक्रममा नेकपाका केन्द्रीय सदस्य, प्रदेश नं. तीनका सचिव, पूर्वमन्त्री आनन्द पोखरेल, नेकपा भक्तपुरका इन्चार्ज दिलिप प्रजापति, सहइन्चार्ज सोम मिश्र, नेकपा भक्तपुरका अध्यक्ष बचन देउजा, चाँगुनारायण नगरपालिकाका उपप्रमुख विना वाँस्तोलालगायतले नेकपाका उम्मेदवार ढकाललाई विजयीको शुभकामना व्यक्त गर्दै आम जनतालाई भोट दिन अपिल गरेका थिए।
कार्यक्रममा करिव एक सय जना राप्रपा, कांग्रेस, नेमकिपालगायतका राजीतिक दलका नेता तथा कार्यकर्ता नेकपामा प्रवेश समेत गरेको छन् ।

ताजा अपडेट

खोजी गर्नुहोस