पौष २५, काठमाण्डौँ । नेपाली काँग्रेसका नेताहरुले प्रस्तावित सूचना प्रविधि विद्येययक संविधानको मर्म र भावनाविपरीत भएको बताएका छन् । नेपाल विद्यार्थी सङ्घले विहिबार आयोजना गरेको नागरिक स्वतन्त्रता नियन्त्रण गर्ने विद्येयक विरुद्धको विरोधसभामा काँग्रेसका नेताहरुले प्रस्तावित सूचना प्रविधि विधेयकले नागरिक स्वतन्त्रतामाथि हस्तक्षेप गरेको बताउँदै उक्त विद्येयक तत्काल खारेज हुनुपर्ने बताएका हुन् ।
कार्यक्रममा पूर्वमन्त्री नवीन्द्रराज जोशीले वर्तमान सरकारले संविधान विरोधी विद्येयक ल्याएर लोकतान्त्रिक व्यवस्थामाथि प्रहार गरेको बताए । “विधेयक संविधानको मर्म र भावना विपरीत ल्याइएको छ, यसलाई कुनै हालतमा स्वीकार गर्न सकिँदैन,”–उनले भने । वर्तमान सरकारका कारण लामो समयको सङ्घर्ष र बलिदानबाट प्राप्त अधिकार खोसिँदै गएको उनको भनाइ छ ।
पूर्वमन्त्री गगनकुमार थापाले सरकारले नागरिकको अधिकार खोस्न खोजेको आरोप लगाए । “विद्येयक नागरिकको अधिकार खोस्ने गरी आएको छ, यो विद्येयक नेपाली काँग्रेसलाई मान्य छैन,”–उनले भने । प्रस्तावित सूचना प्रविधि विद्येयकको बारेमा छलफल हुनुपर्ने उनको भनाइ थियो ।
यस्तै नेपाली काँग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले वर्तमान सरकारले ल्याएको सूचना प्रविधि विधेयक, प्रेस काउन्सिल विधेयकले लोकतन्त्रलाई बलियो बनाउन नसक्ने बताए । सरकारले बहुमतको आधारमा सूचना प्रविधि विद्येयकलाई अगाडि बढाउन खोजेको उनको भनाइ छ ।
कार्यक्रममा नेविसङ्घका पूर्व महामन्त्री कुन्दनराज काफ्ले, मनोजमणि आचार्य, प्रतिमा गौतम, नेविसङ्घ नेता रामप्रसाद अधिकारी, सुशील भट्टलगायतले सरकारले सूचना प्रविधि विद्येयकलाई हुबहु पास गरे नेविसङ्घले आन्दोलन गर्ने बताएका थिए । रासस