फाल्गुण २७, काठमाण्डौ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई जुत्ता प्रहार गर्ने रतन तिरूवाविरुद्ध दोस्रो पटक म्याद थपको तयारी गरिएको छ । महानगरीय प्रहरी वृत्त सिंहदरबारले तिरुवाविरुद्धको ‘अभद्र व्यवहार’ मुद्दामा मङ्गलबार १० दिनको म्याद थपको दाबी गर्ने जनाएको छ । त्यसका लागि तिरुवालाई जिल्ला प्रशासन कार्यालय काठमाडौंमा उपस्थित गराइने डिएसपी कुशल बुढाथोकीले बताए । यसअघि अनुसन्धानका लागि जिल्ला प्रशासन कार्यालयले फागुन १९ गते ७ दिन म्याद थप गरेको थियो । त्यसअघि अभद्र व्यवहार सम्बन्धी कसूरमा उनीविरुद्ध मुद्दा जिल्ला प्रशासन कायालयमै दर्ता भएको थियो ।
रतन हाल महानगरीय प्रहरी वृत्त सिंहदरबारमा रहेका छन् । उनलाई हिरासतमा राखेर अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । गत फागुन १८ गते राष्ट्रियसभामा तत्कालीन नेकपा एमालेका नेता तथा नेपालका पहिलो कम्युनिस्ट अर्थमन्त्री भरतमोहन अधिकारीको पहिलो स्मृतिसभा हुँदै थियो । सभालाई सम्बोधन गरेका नेकपाका कार्यकारी अध्यक्ष ‘प्रचण्ड’ लाई तिरूवाले दर्शकदीर्घाबाट जुत्ता प्रहार गरे । तिरुवाले ‘प्रचण्ड’ले मन्तव्यको क्रममा व्यक्त गरेको समाजवादसँग सम्बन्धित विचार मन नपरेपछि आवेश र आक्रोशमा जुत्ता प्रहार गर्न पुगेको बताएको प्रहरीले जनाएको छ ।