चैत्र १०, काठमाण्डौ । सञ्चार तथा सूचना प्रविधिमन्त्री डा। युवराज खतिवडाले कोभिड–१९ को रोकथाम र जोखिम न्यूनीकरणका लागि सार्वजनिक सञ्चारमाध्यम र सञ्चार सेवा प्रदायक संस्थालाई थप प्रभावकारी सूचना प्रवाह गर्न निर्देशन दिएका छन् । सञ्चार मन्त्रालयमा ती निकायका प्रमुखसँगको आइतबारको छलफलमा मन्त्री डा खतिवडाले कोभिड–१९सङ्क्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समिति र सरकारका निर्णयसम्बन्धी समाचार व्यवस्थित र प्रभावकारीरुपमा सम्प्रेषित भएमा जनताले सही सूचना पाउने र कुनै त्रासको वातावरण नहुने बताए ।
विशेष परिस्थितिमा छिनछिनमा निर्णय र ताजा सूचना सम्प्रेषण गर्नुपर्ने भएकाले आफ्ना उपकरण र साधनलाई तन्दुरुस्त राखी जनशक्तिलाई सक्रियताका साथ परिचालन गरी जनतालाई सूचना प्रवाहमा कुनै कमी हुन नदिन उनले निर्देशन दिए । उनले ती निकायको कामसँग सम्बन्धित कुनै निर्णय गर्नुपर्ने भएमा आफूले उच्चस्तरीय समन्वय समितिमा प्रस्ताव लाने अवगत गराए ।