असार १४, काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी नेकपा का विभिन्न नेताले भारतद्वारा अतिक्रमित भूूमि फिर्ता ल्याउन राष्ट्रिय सहमतिका आधारमा वार्ता प्रक्रिया अगाडि बढाउन पार्टी तथा सरकारलाई सुझाव दिए । प्रधानमन्त्री निवासमा जारी नेकपाको स्थायी कमिटीमा शनिबार विभिन्न नेताले नेपाली भूूमि फिर्ता ल्याउन वार्ता गर्न सुझाव दिएका पार्टीका प्रवक्ता एवं सचिवालय सदस्य नारायणकाजी श्रेष्ठले जानकारी दिए । नेकपाको स्थायी कमिटी बैठकमा नक्सा र सीमा विवादको कार्यसूचीमा छलफल भइरहेको छ ।
प्रवक्ता श्रेष्ठका अनुसार शनिबारको बैठकमा नेपालको सीमा समस्या र समाधानका बारेमा देवेन्द्र पौडेल, रघुवीर महासेठ, सुवास नेम्वाङ, सुरेन्द्र पाण्डे, जनार्दन शर्मा, गिरिराजमणि पोखरेल, टोपबहादुर रायमाझी, रघुजी पन्त, सत्यनारायण मण्डलले धारणा राखेका थिए । यसैगरी युवराज ज्ञवाली, नन्दकुमार प्रसाईं, प्रदीप ज्ञवाली, वामदेव गौतम, योगेश भट्टराई, पृथ्वीसुब्बा गुरुङ, ईश्वर पोखरेल, विष्णुपुकार श्रेष्ठ, मणि थापा, घनश्याम भुसाल, शक्ति बस्नेत र डा। पुष्प कँडेल गरी २१ नेताले आ–आफ्ना विचार व्यक्त गरे ।
उनीहरूले नक्सा प्रकाशित गरेर संविधानको अनुसूचीमा समेत राखेको र राष्ट्रको सार्वभौमिकता, अखण्डता रक्षाका सम्बन्धमा सरकारले गरेको पहल कोसेढुङ्गा सावित भएको धारणा राखेका प्रवक्ता श्रेष्ठले स्पष्ट पारे ।
नेकपाका उपाध्यक्ष वामदेव गौतमले संविधान संशोधन गरी नक्सा अध्यावधि गरिसकेपछि वार्ता र छलफलको माध्यमबाट नेपालको भूमि भारतबाट फिर्ता ल्याउन सुुझाव दिए । पार्टी र सरकारले नयाँ नक्सा बनाएर ऐतिहासिक काम गरेको बताउँदै उनले अबको काम भूमि फिर्ता र नेपाली भूमिबाट भारतीय सेना हटाउने कार्यसूची रहेको स्पष्ट पारे ।
अग्रगामी काम
संसदीय दलका उपनेतासमेत रहनुभएका स्थायी कमिटी सदस्य सुवास नेम्वाङले सरकारले संविधान निर्माणभन्दा पनि नक्साका लागि संविधान संशोधन गरेर अग्रगामी काम गरेको बताए । नेम्वाङले संविधान जारी हुँदा विपक्षमा मत परेको थियो तर नक्साका लागि संविधान संशोधन हुँदा राष्ट्रिय सहमति बनेको हुनाले संविधान जारी हुँदाभन्दा पनि यो एक कदम अगाडि रहेको धारणा राखे । त्यसका लागि पार्टी र सरकारले ठूलो मिहिनेत गर्नुुपरेको उनले स्पष्ट पारे ।
सकारात्मक पहल जरुरी
बैठकमा गणेश साहले वार्ता र छलफलबाट मात्र दुई देशको विवाद समाधान गर्न सकिने भएकाले यसका लागि दुवै देशले सकारात्मक पहल गर्नु आवश्यक रहेको बताए । अर्का स्थायी कमिटी सदस्य रघुजी पन्तले पनि नेपाल–भारतको सीमा विवाद वार्ताको माध्यमबाट मात्र समाधान गर्न सकिने धारणा राखेका थिए ।
उनले बैठकमा भारतले नेपाललाई पेलेर समस्याको समाधान गर्न खोजेका कारण यो अवस्था आयो । हेपाहा प्रवृत्तिले समाधान हुँदैन भने । अर्का स्थायी कमिटीका सदस्य देवेन्द्र पौडेलले कूटनीतिक माध्यमबाट भारतमाथि दबाब दिएर अतिक्रमित जग्गा फिर्ता लिनुपर्ने धारणा राखे ।
अर्को बैठक असार १६ गते बस्नेछ ।