साउन २०, काठमाण्डौ । संघीय राजधानी काठमाडौंंसहित देशभर कोरोना संक्रमण बढेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले विज्ञसँग सामूहिक परामर्श गर्ने भएका छन् । समुदायमै कोरोना फैलिएर भयावह अवस्था आउन सक्ने भन्दै सर्वस्त्र चिन्ता व्यक्त गर्न थालिएपछि प्रधानमन्त्री ओलीले भावी रणनीति तय गर्न मंगलबार छलफल गर्न लागेका हुन् । प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार मंगलबार २० भन्दा बढी विज्ञसँग छलफल गर्ने तय भएको छ। विज्ञको सुझावअनुसार सरकारले आगामी रणनीति तय गर्नेछ ।
लकडाउन लगाउनुअघि प्रधानमन्त्री ओलीले गत चैत १० मा २५ जना विज्ञसँग छलफल गरेका थिए । त्यतिबेला विज्ञको सुझावअनुसार झन्डै चार महिना लकडाउन गरिएको थियो । साउन ७ मा लकडाउन अन्त्यपछि नागरिकमा हेलचेक्र्याइँ देखिएको छ । बजारलगायत सार्वजनिक स्थलमा भीडभाड बढेको छ । भारतलगायत देशबाट आउनेलाई सीधै घरपरिवारको सम्पर्कमा जान दिइएको छ । यस्ता गतिविधिका कारण समुदायमा कोरोना फैलिएको विज्ञको भनाइ छ ।
कोरोना नियन्त्रण तथा रोकथामका लागि भीडभाड व्यवस्थापनदेखि लकडाउनसम्म जान सुझाव आइरहेको सम्बन्धित मन्त्रीहरू बताउँछन् । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा निजी सवारी साधनमा पुनः जोरबिजोर प्रणाली लागू गर्नुपर्ने प्रस्ताव गरेको छ ।