साउन २०, काठमाडौ । लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील भट्टलाई नियुक्त गर्ने निर्णय भएको छ । मन्त्रिपरिषदको सोमबार बालुवाटारमा बसेको बैठकले सो निर्णय गरेको हो । राष्ट्रिय योजना आयोगका सदस्य रहनुभएका भट्टलाई लगानी बोर्डको प्रमुखमा नियुक्त गर्ने निर्णय भएको परराष्ट्र मन्त्री प्रदीपकुमार ज्ञवालीले जानकारी दिए । सुदूरपश्चिमको डडेल्धुरा पुर्ख्यौली घर भएका भट्ट लामो समयदेखि काठमाडौँमा बस्दै आएका छन् ।
उनको दक्षता इन्जिनियरिङ तथा व्यवस्थापनमा हो । बोर्डका तत्कालीन प्रमुख कार्यकारी अधिकृत महाप्रसाद अधिकारी नेपाल राष्ट्र बैङ्कको गभर्नरमा नियुक्त भएपछि लगानी बोर्डको प्रमुख पद खाली थियो । सो पदमा भट्टलाई नियुक्त गर्ने निर्णय भएको हो ।
त्यसैगरी, मन्त्रिपरिषद बैठकले वीरबहादुर राईलाई नेपाल सरकारको सचिवमा बढुवा गर्ने निर्णय पनि गरेको छ । केही दिनयता परेको अविरल वर्षाका कारण मुलुकको विभिन्न ठाउँमा गएको बाढी पहिरो, डुबानका कारण समस्यामा परेका नागरिकको उद्धार तथा राहतका लागि सम्बन्धित निकायलाई सक्रिय बनाउने निर्णय पनि बैठकले गरेको छ ।