पुस ७, काठमाडौं । प्रतिनिधिसभा विघटनसँगै सत्तारूढ नेपाल कम्युनिस्ट पार्टी नेकपा स्पष्ट रूपमा दुई समूहमा विभाजित भएको छ । अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली पक्ष र अर्का अध्यक्ष पुष्पकमल दाहाल पक्षले समानान्तर कमिटीमार्फत बैठक बस्ने निर्णय गरेसँगै सत्तारूढ नेकपा विभाजनको अन्तिम संघारमा पुगेको हो । सम्भवतः अब नेकपामा फुटको औपचारिक घोषणा हुन मात्रै बाँकी रहेको घटनाक्रमले पुष्टि गरेको छ ।
विवाद उत्कर्षमा पुगेर प्रतिनिधिसभा विघटन भएपछि दुवै समूहले आगामी रणनीति तय गर्न गुटगत भेला र बैठक बोलाउने क्रमलाई तीव्रता दिएका छन् । दुवै पक्षले एकले अर्कालाई अनुशासनको कारबाही गर्ने गरी तयारी अघि बढाएका छन् भने दुवै पक्षले आआफ्नो बैठकलाई नै आधिकारिक भएको दाबी गर्न थालेका छन् ।