जेठ २९,काठमाडौँ । भारत सरकारको विदेशमन्त्रीको रूपमा एस. जयशंकरले पुनः पदभार ग्रहण गरेका छन् ।
दोस्रो कार्यकालमा विदेशमन्त्री बनेका जयशंकरले आज मन्त्रालयमा पदभार ग्रहण गरेपछि नेपाली समकक्षी उपप्रधान तथा परराष्ट्र मन्त्री नारायणकाजी श्रेष्ठ बधाई दिएका छन् ।
श्रेष्ठले नेपाल–भारत बिचको न्यानो र घनिष्ठ सम्बन्धलाई अझ बलियो बनाउनका लागि सहकार्य गर्न तत्पर रहेको एक्समार्फत जनाएका छन् ।
जवाफमा जयशंकरले पनि परराष्ट्र मन्त्री श्रेष्ठलाई धन्यवाद दिँदै नेपाल–भारतको प्रगतिका लागि मिलेर काम गर्न तयार रहेको बताएका छन् ।
जयशंकर सन् २०१९ मा पहिलो पटक विदेशमन्त्री चयन भएका थिए । विदेश सचिवबाट अवकाश लिएपछि उनी मन्त्रीमा नियुक्त भएका हुन् । भारतमा उनलाई सफल कूटनीतिज्ञ मानिन्छ । त्यही भएर प्रधानमन्त्री नरेन्द्र मोदीले उनलाई दोस्रो कार्यकालमा पनि मन्त्रीको रूपमा समेटेका हुन् ।
नरेन्द्र मोदी गुजरातको मुख्यमन्त्री भएको बेला चीन भ्रमणमा जाँदा जयशंकर त्यहाँ भारतीय राजदूत थिए । जयशंकरसँग मोदीको पहिलो भेट त्यहीँ भएको थियो ।