साउन २७, काठमाडौँ । उपप्रधानमन्त्री एवम् सहरी विकासमन्त्री प्रकाशमान सिंहले आर्थिक–सामाजिक परिवर्तनमा युवाको भूमिका आवश्यक रहेको बताएका छन् ।
अन्तर्राष्ट्रिय युवा दिवस, २०२४ का अवसरमा आज ललितपुरमा आयोजित कार्यक्रममा उपप्रधानमन्त्री सिंहले युवालाई सकारात्मक सोचका साथ अघि बढ्न आग्रह गरे । ‘हरेक परिवर्तनमा युवाको ठूलो भूमिका हुन्छ, हामी युवा हुँदा लोकतान्त्रिक मूल्य मान्यताका लागि सङ्घर्ष गर्यौं, राजनीतिक परिवर्तनका लागि काम गर्यौं, अब त्यो अवस्था छैन, अहिले संविधानसभाबाट लोकतान्त्रिक संविधान जारी भएको छ । प्राप्त अधिकारको कार्यान्वयन गराउँदै देशलाई फाइदा हुनेगरी सबैको आर्थिक समृद्धि गराउनतर्फ लाग्नुपर्छ’, उनले भने ।
जिम्मेवारी र दायित्वबाट पन्छिएर आरोप–प्रत्यारोपबाट मात्रै प्रगति हुन नसक्ने उल्लेख गर्दै उपप्रधानमन्त्री सिंहले एकताबद्ध भएर आर्थिक–सामाजिक रुपान्तरण गर्न लाग्नुपर्ने बताए । ‘युवा बेरोजगारी समस्याबाट पीडित छन्, दैनिक एक हजार सात सयदेखि दुई हजार पाँच सयको संख्यामा युवा देशबाट बाहिरिने गरेको तथ्याङ्क छ । विगतको भन्दा केही परिवर्तन भएन भन्नुभन्दा पहिला र अहिलेको अवस्था तुलना गरेर हेर्नुपर्छ, शिक्षा, स्वास्थ, रोजगार, यातायात, डिजिटल प्रविधिको क्षेत्रमा विकास भएको छ’, उनले भने ।
उपप्रधानमन्त्री सिंहले सत्य र असत्य कुरा छुट्याउन सक्नुपर्छ भन्दै नकारात्मक मानसिकतामा आधारित रहेर लेखिएको कुरालाई पनि सबै सत्य नै हो भनेर त्यसैलाई सही हो भन्ने आधारमा हेर्न नसकिने बताए । उनले राम्रो सोचबाट काम गरेर अवस्था परिवर्तन गर्न सकिने बताउँदै युवाहरु सकारात्मक परिवर्तनमा लाग्नुपर्नेमा जोड दिए ।