साउन २७, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अमेरिकी सैन्य साझेदारी कार्यक्रम एसपीपीमा सहमति नजनाएपछि आफूलाई षड्यन्त्रमूलक ढंगले सत्ताच्यूत गरिएको ‘ब्रिफिङ’ गरेका छन् ।
पार्टीको जारी स्थायी कमिटी बैठकमा शनिवार बोल्दै अध्यक्ष प्रचण्डले बंगलादेशकी प्रधानमन्त्री शेखर हसिना र आफूलाई एकै ढंगले हटाइएको बताएका हुन् । प्रचण्डले एसपीपी स्वीकार नगर्दा आफू र अमेरिकी सेनाको बेस राख्न नमान्दा हसिनालाई सत्ताच्यूत गरिएको दाबी बैठकमा पेश गरेका हुन् ।
दक्षिण एसियामा अमेरिकी हस्तक्षेप बढेको भन्दै प्रचण्डले अबका कदम होशियारीपूर्वक चाल्नुपर्ने बताएको एक स्थायी कमिटी सदस्यले जानकारी दिए । अब सबैखाले षड्यन्त्र र राष्ट्रिय स्वाधीनताको रक्षाका लागि माओवादीले वामपन्थी र देशभक्त शक्तिहरूसँग सहकार्य र पार्टी एकता समेत गर्ने बताएका छन् ।