असोज २, काठमाण्डौँ । सरकारले भोलि (बिहीबार) को संविधान दिवसमा आयोजना गर्न लागिको कन्सर्ट तयारीका लागि दरबारमार्ग क्षेत्रमा सवारी आवागमन बन्द गरेर मञ्च (स्टेज) बनाइरहेको छ । दरबार मार्गमा ‘नेसनल डे कन्सर्ट’ का लागि स्टेज बनाउने काम धमाधमइ भइरहेको छ । स्टेज निर्माणको काम चलिरहेकाले ट्राफिक प्रहरीले अहिले सो क्षेत्रमा सवारी आवागमन रोकेको छ ।
उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार केशरमहल चोकबाट नारायणहिटीको दक्षिणगेटतर्फ जाने सवारी साधनहरूलाई जमलतर्फ, जय नेपाल चोकबाट दक्षिणगेटतर्फ आउने सवारी साधनहरूलाई कृष्ण पाउरोटीतर्फ र महेन्द्र शालिक चोकबाट दक्षिणगेटतर्फ जाने सवारी साधनहरूलाई घण्टाघरतर्फ डाइभर्सन गरिएको छ । यसरी दरबारमार्ग क्षेत्रमा सडक आवागमन बन्द गरेसँगै सो क्षेत्रमा जाम बढेको छ ।