साउन १२,काठमाडौँ । बालुवाटारको ललितानिवास र त्यसले चर्चेको सरकारी जग्गा व्यक्तिको नाममा बनाउने काममा मुछिएका युक्तप्रसाद श्रेष्ठले आत्महत्या गरेका छन ।
पर्वतको फलेबास नगरपालिका ६, देवीस्थान घर भएका श्रेष्ठको काठमाण्डौको बालाजुमा रहेको हिमालय सिटी सेन्टरको साततला माथिबाट हाम फालेर उनले आत्महत्या गरेका हुन । प्रहरीका अनुसार सातौँ तलाबाट खसेका श्रेष्ठको उपचारका क्रममा पिपुल्स अस्पताल नयाँ बजारमा पुर्याउँदा ज्यान गएको हो ।
बालुवाटार जग्गा प्रकरणमा जोडिएका कारण श्रेष्ठको मृत्युलाई ‘शंकास्पद’ मानिएको छ । श्रेष्ठले आत्महत्या गरेको आशंका गरिएको छ । तर प्रहरीले यसबारे अनुसन्धान भैरहेको जनाएको छ ।
बालुवाटारको सरकारी जग्गा ललिता निवास व्यक्तिका नाममा ल्याउन मालपोत कार्यालय डिल्लीबजारमा कार्यरत रहँदा फाइल खडा गर्ने लगायतका काममा श्रेष्ठको संलग्नता भेटिएको थियो । सरकारी जग्गा हिनामिना गरेको अभियोगमा मालपोत कार्यालय डिल्लीबजारका तत्कालीन नायब सुब्बा रहेका श्रेष्ठविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बयान लिइरहेको थियो ।