चैत्र ११, काठमाण्डौ । कोरोना भाइरस कोभिड १९ को जोखिमका कारण सरकारले ‘लकडाउन’ गरेपछि सर्वसाधारणलाई अत्यावश्यक काममा मात्रै हिँडडूल गर्न आग्रह गरेको छ । अत्यावश्यक कामको रूपमा सरकारले औषधी उपचारलाई मानेको छ । खाद्यन्न र खानेपानी पटक्कै नभएको अवस्थालाई पनि अत्यावश्यक काम मानेको छ ।
अत्यावश्यक काममा बाहेक हिँडडुल गर्न सरकारले आज मङ्गलबारदेखि कडाइ गरेको छ । नेपाल प्रहरीका प्रवक्ता तथा प्रहरी नायब महानिरीक्षक डिआइजी शैलेस थापा क्षेत्रीले अत्यावश्यक काम परे टोल फ्रि नम्बर १०० मा कल गर्न सकिने बताए । उनले १०० मा कल गरेर आफ्नो अत्यवाश्यक कामबारे प्रहरीलाई थाहा दिनु पर्ने बताए । यदी फोन नभएको तर अत्यावश्यक कामका लागि घरदेखि निस्किनु परेको अवस्थामा सडकमा परिचालन भएका प्रहरी टोलीको कमाण्डरलाई अत्यावश्यक कामबारे थाहा दिएर जान सकिने बताए ।