चैत्र १७, काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले हरेक मृत्युलाई कोरोना भाइरस कोभिड–१९ सँग नजोड्न आग्रह गरेको छ । गाउँघरमा कसैको मृत्युभयो भने कोरोनाकै कारण मृत्युभएको भन्दै मलामी समेत नजाने अवस्था आएको भन्दै मन्त्रालयले त्यसो नगर्न ध्यानाकर्षण गराएको छ ।
सोमबार आयोजित नियमित पत्रकार सम्मेलनमा मन्त्रालयका विज्ञ सल्लाहकार डा। खेम कार्कीले भने, ‘जो मर्यो, त्यो कोरोनाले मर्यो भन्ने ढंगले जसरी प्रचारप्रसार भएको छ । यो दुःखद् कुरा हो ।’ उनकाअनुसार नेपालमा अहिलेसम्म कोरोनाको संक्रमण विदेशबाट फर्किएकाहरुमा मात्र देखिएको छ र स्थानीय तथा समुदाय स्तरमा फैलिन पाएको छैन । साथै, अहिलेसम्म मृत्यु भएकाहरुको कोरोना परीक्षण गर्दापनि नेगेटिभ रिपोर्ट नै आएको छ ।