चैत्र १९, काठमाण्डौ । गण्डकी प्रदेशमा पहिलो पटक भएको कोरोना भाइरस संक्रमणको परीक्षणको रिपोर्ट आएको छ । आइसोलेसनमा रहेकामध्ये ३ बिरामीको स्वाब परीक्षण गरिएकोमा सबैको नतिजा ‘नेगेटिभ’ आएको हो । प्रदेश राजधानी पोखरास्थित पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मंगलवार मात्र पीसीआर मेसिन जडान भई परीक्षण शुरू भएको हो । गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयका निर्देशक डा। विनोद विन्दु शर्माले पीसीआर मशिन सञ्चालनमा ल्याएपछि ३ जना बिरामीको मंगलवार स्वाब संकलन गरी ल्याब जाँच गरिएकोमा सबैको नतिजा नेगेटिभ आएको बताए । उनका अनुसार अब क्रमशः यहीँबाट कोरोना जाँच हुनेछ ।
यसैगरी विश्वभर फैलिएको कोरोना भाइरसको परिक्षण कर्णाली प्रदेशमै हुने भएको छ। सरकारले चीनबाट ल्याएको पोर्टेबल पिसिआर मेसिनसहित अन्य आवश्यक सामग्री प्रदेशमा पुगेसँगै परीक्षण हुने भएको हो । सरकारले सातवटै प्रदेशमा कोरोना संक्रमण परीक्षण गर्ने उपकरण पठाई कोरोना भाइरस रोकथाम तथा नियन्त्रण गर्ने रणनीति लिएको छ । आजमात्रै प्रदेश अस्पताल कर्णालीमा उपकरण पुगेसँगै आशंका गरिएकाहरुको परीक्षण सुर्खेतमै हुने भएको छ । परीक्षणका लागि पोर्टेबल पिसिआर मेसिनसहित आवश्यक सामग्री आएपछि तत्काल जडान गरेर काम अघि बढाइने सामाजिक विकास मन्त्री दल रावलले जानकारी दिए ।