चैत्र २१, काठमाण्डौ । नेपाल–भारत सिमानाको जमुनाह नाकाको दसगजा क्षेत्रमा तीन दिनदेखि अलपत्र परेका १ सय ८१ जना नेपालीको बिहीबार उद्धार गरेर नेपालकै क्वारेन्टाइनमा राखिएको छ ।
दशगजासँगै जोडिएको नेपालतर्फको निर्माणाधिन एकिकृत भन्सार चेकपोष्टको खाली जग्गामा नेपाली सेनाले ४५ वटा टेन्टसहितको अस्थायी क्वारेन्टाइन बनाएपछि सोही ठाउँमा ती नेपालीहरुलाई राखिएको हो ।
कोरोना संक्रमणलाई रोक्न नेपाल र भारतमा लक डाउन भएको र नाका समेत ठप्प भएको अवस्थामा सोमबार ती नेपालीहरु जमुनाहसम्म आएका थिए । भारतमा रहेका नेपालीलाई भारतले र नेपालमा रहेका भारतीयलाई नेपालले व्यवस्थापन गर्नुपर्ने सहमति बनेको भए पनि अलपत्र नेपालीहरुले भारतीय क्वारेन्टाइनमा नबस्ने अडान लिँदै दशगजामा धर्ना दिएका थिए ।
नेपालतर्फ पनि ल्याउन नमिल्ने र भारतमा पनि नबस्ने भएपछि अलपत्र नेपालीको व्यवस्थापन अनिश्चित बनेको थियो ।