चैत्र २१, काठमाडौँ । कान्ति बाल अस्पतालमा कोभिड–१९ को शङ्का गरेर अहिलेसम्म १४ जना बालबालिकाको परीक्षण गरिएकामा सबैको रिपोर्ट नेगेटिभ आएको छ । ती बालबालिकामा देखिएको रुघाखोकी, ज्वरो, निमोनियालगायतका स्वास्थ्य समस्या उपचारपछि निको भएर घरसमेत फर्किसकेका छन् ।
ती १४ मध्ये ११ नेपाली र तीन भारतीय बालबालिका रहेको अस्पतालले जनाएको छ । कोभिड–१९ का लक्षणसँग मिल्दा लक्षण देखिएपछि अस्पतालले ती बालबालिकाको टेकुस्थित शुक्रराज सरुवा रोग अस्पतालमा स्वाब पठाएर परीक्षण गरेको थियो । नौ बालबालिकाका घरमा परिवारका सदस्य विदेशबाट फर्किएकाले शङ्का गरिएको अस्पतालका निर्देशक डा कृष्णप्रसाद पौडेलले बताउनुभयो । उहाँका अनुसार बिरामीका परिवार र आफन्तका बारेमा विस्तृत जानकारी लिइएको थियो । त्यस क्रममा यी बालबालिकाको परिवारका सदस्य विदेशबाट फर्किएपछि अरुको संसर्गमा नआई ‘क्वारेन्टाइन’ बसेको नपाइएको उनले बताए ।