२१ सय सैनिक क्‍वारेन्टाइनमा !

Post Thumbnail

चैत्र २१, काठमाडौं । जंगीअड्डाले कोरोना भाइरस संक्रमणबाट जोगिन २ हजार १ सयभन्दा बढी सैनिक अधिकारीलाई क्‍वारेन्टाइनमा राखेको छ। अन्य ३९ जना आइसोलेसनमा छन् । कोरोना संक्रमणको जोखिम नहोस् भनेर सैनिक अधिकारीलाई क्‍वारेन्टाइन र आइसोलेसनमा राखिएको जंगीअड्डाले जनाएको छ । उनीहरू घर बिदा सकेर फर्किएका, तालिम सकाएका र कोही विदेशबाट फर्किएकाहरू हुन् । क्‍वारेन्टाइनमा बसेको १४ दिनपछि मात्र उनीहरूलाई सेनाको अर्को टोलीसँग मिसाइनेछ ।

सैनिक प्रवक्ता सहायक रथी विज्ञानदेव पाण्डेले क्‍वारेन्टाइन र आइसोलेसनमा रहेका सैनिक अधिकारीको स्वास्थ्य अवस्था सामान्य रहेको जानकारी दिएका छन् । मध्य पृतनामा ४, मध्यपश्चिम पृतनामा १८, उत्तरपश्चिम अनि सुदूरपश्चिम पृतनामा ३÷३ र उपत्यका पृतनामा ११ जनालाई आइसोलेसनमा राखिएको छ। उनीहरू ३९ जनाकै स्वास्थ्य अवस्था सामान्य रहेको जंगीअड्डाले जनाएको छ। नेपाली सेनाले आठवटै पृतनामा ५ सय ६ वटा आइसोलेसन कक्ष बनाएको छ। तीमध्ये सबैभन्दा बढी मध्य पृतनामा ८४ बेड क्षमताको आइसोलेसन कक्ष छ ।

यस्तै, पूर्वी पृतनामा १ सय ९९, मध्यपूर्वी पृतनामा १ सय ९५ र मध्य पृतनामा ४ सय ६६ जना क्‍वारेन्टाइनमा छन्। पश्चिम पृतनामा २ सय ८८, मध्यपश्चिम पृतनामा १ सय २९, उत्तरपश्चिम पृतनामा ३ सय ६४, सुदूरपश्चिम पृतनामा २ सय ३ र उपत्यका पृतनामा ३ सय १२ जनालाई क्‍वारेन्टाइनमा राखिएको छ । सेनाले उपत्यकासहित आठवटै पृतनामा ४ हजार २ सय ९० बेड क्षमताको क्‍वारेन्टाइन बनाएको छ । -अन्नपूर्णपोष्ट

ताजा अपडेट

खोजी गर्नुहोस