वैशाख ८, काठमाडौँ । लकडाउनका कारण भारतीय भन्सार तथा राजमार्गमा अड्किएका सवारी साधनलाई भारतले नेपाली सीमासम्म सहज रुपमा आवत जावत गर्न दिने भएको छ । नेपालमा निर्माणाधीन अवस्थामा रहेका बिभिन्न जलविद्युत् आयोजनाका सामान, उपकरण तथा मेसिनहरु बोकेका सवारी साधन लकडाउनका कारण भारतमै अड्किएका थिए । जलविद्युत् आयोजनाका लागि आवश्यक उपकरण तेस्रो मुलुकबाट र कतिपय भारतीय उद्योगबाट उत्पादित सामान नेपाल भित्रिन नसक्दा जलविद्युत् आयोजनाको काम प्रभावित भइरहेका बेला भारतले सहजीकरण गर्ने भएको छ ।
दुबै देशमा लकडाउनको अवधि सञ्चालन भइरहेका बेला ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालयका सचिव दिनेशकुमार घिमिरेले भारतीय समकक्षी सञ्जीव नन्दन सहायसँग सहयोगका लागि आग्रह गरेपछि भारतीय पक्ष सकारात्मक देखिएको हो । लकडाउनका बेला सचिव घिमिरेले समकक्षीसँग भर्चुअल बैठक गरी यस्तो आग्रह गर्नुभएको हो । सो बैठकपछि आइतवार नै भारतीय ऊर्जा मन्त्रालयका अतिरिक्त सचिवको कार्यालयले भारतमा अड्एिका सवारी साधनको विवरण मागिसकेको छ ।
सचिव घिमिरेले भने, मैले भारतीय ऊर्जा सचिवसँग कुरा गरेपछि त्यहाँको अतिरिक्त सचिवको सचिवालयले जलविद्युत्का सामान, उपकरण बोेकेका सवारी साधन र अड्किएको स्थानका बारेमा विवरण माग गरेको । त्यसका विवरण हामी आजै पठाउन थालेका छौँ । अब चाँडै उताबाट सवारी साधनको पासको व्यवस्था भएपछि सीमा नाकासम्म सवारी साधन आउने छन् । हाल नेपालमा सरकारी क्षेत्रबाट निर्माणाधीन अवस्थामा रहेका माथिल्लो तामाकोशी, रसुवा, साञ्जेन, भोटेकोशी लगायतका जलविद्युत् आयोजना निर्माण कार्य अन्तिम चरणमा पुगे पनि सामानको अभावमा काम रोकिदै आएको छ । उता नीजि क्षेत्रबाट निर्माणाधिन अवस्थामा रहेका जलविद्युत् आयोजनाका काम पनि ठप्प हुँदै आएका छन् ।