वैशाख २०, काठमाण्डौ । नेपाल सरकारले कोरोना भाइरस (कोभिड–१९) लगायत अन्य भाइरस लाग्न नदिने पूर्वरोकथामका रूपमा आयुर्वेद उपचार पद्धति अपनाउन वैधानिक बाटो खुला गरेको छ । आयुर्वेद तथा वैकल्पिक उपचारसम्बन्धी निर्देशिका जारी गरी सरकारले सातै प्रदेशमा अवलम्बन गर्न निर्देशन दिएको छ । कोरोना भाइरस (कोभिड–१९) महामारी रोक्न यति बेला नेपालले बन्दाबन्दी (लकडाउन) नीति अपनाएको छ ।
विश्वमा कोरोना भाइरसको कुनै उपचार पद्धति, खोप र औषधि बनिसकेको छैन् । त्यसैले हरेक मुलुक क्वारेन्टाइन र आइसोलेसनमा बसेर आधुनिक चिकित्साको हल्का उपचार पद्धति अपनाउन बाध्य छ । नेपालमा भने हजारौं वर्षदेखि चलिआएको सांस्कृतिक तथा परम्परागत आयुर्वेद उपचार पद्धतिमा कोरोनालगायतका अन्य भाइरस लाग्न नदिने गुण रहेका कारण निर्देशिका जारी गरी उपयोग गर्न भनिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।