वैशाख २२, काठमाण्डौ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सार्वजनिक गरेको पछिल्लो अद्यावधिक विवरणअनुसार नेपालमा पुरुषमा भन्दा महिलामा संक्रमण अत्यन्त न्यून रहेको छ । नियमित प्रेस ब्रिफिङमा बोल्दै सोमवार मन्त्रालयका प्रवक्ता डाक्टर विकास देवकोटाले संक्रमित पुरुषको संख्या ५८ र महिलाको संख्या १७ रहेको बताएका हुन् । यससँगै नेपालमा जम्मा संक्रमितको संख्या ७५ पुगेको छ ।
आइतवार साँझ नेपालगंजमा एकैपटक दुई दर्जन बढी संक्रमित फेला परेका थिए । हालसम्मको अद्यावधिक तथ्यांकअनुसार प्रदेश १ मा ३१ जना, प्रदेश २ मा १३ जना, वागमती प्रदेशमा ७ जना, गण्डकीमा २ जना, प्रदेश ५ मा १७ जना, कर्णालीमा शून्य र सुदूरपश्चिममा ५ जना संक्रमित रहेका छन् । संक्रमितमध्ये १६ जना उपचारपछि निको भएर घर फर्किसकेका छन् भने ५९ जना अझै पनि उपचारको क्रममा छन् ।