वैशाख २२, काठमाडौँ । सरकारले कोभिड–१९ का कारण रोजगार गन्तव्यमा अलपत्र परेका नेपालीलाई प्राथमिकताका आधारमा स्वदेश फर्काउने तयारीमा रहेको जनाइएको छ । श्रम रोजगार पत्रकार समूहले आज यहाँ आयोजना गरेको कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले कोभिड–१९ का कारण रोजगारी गुमाएर तथा भिसा सकिएर अलपत्र परेका नेपाली नागरिकलाई स्वदेश फर्काउन सरकारले तयारी थालेको बताए ।
नेपालीलाई फर्काउने विषयमा अध्ययन गर्न परराष्ट्र मन्त्रालयको नेतृत्वमा सरोकारवाला सहभागी रहेको टोली गठन गरिएको उनको भनाइ छ । विदेशमा समस्यामा परेका नेपालीको तथ्याङ्क सङ्कलन शुरु भइसकेको, तत्कालै ल्याउनुपर्नेको हकमा प्राथमिकताको आधार छुट्याइएको र आवश्यक प्रबन्ध मिलाएर स्वदेश फिर्ता गरिने मन्त्री ज्ञवालीले बताए ।
महामारीको बेला आपत्मा परेका नागरिकलाई उद्धार गरेर स्वदेश ल्याउनु निकै चुनैतीपूर्ण रहेको भन्दै उनले भावनामा बगेर सरकारले केही गरेन भनेर दोषारोपण नगर्न पनि आग्रह गरे । “हाल अन्तर्राष्ट्रिय हवाई उडान बन्द छ, सबैलाई एकै चोटी नेपाल फिर्ता ल्याउन सक्ने अवस्था छैन”, मन्त्री ज्ञवालीले भने , “उडान खुलेसँगै विदेशमा रहेकालाई सुरक्षित र व्यवस्थित हुने गरी प्राथमिकताका आधारमा नेपाल ल्याउँछौ ”
अहिलेको विषम परिस्थितिमा आपत्मा परेका नेपालीको साथमा सरकार रहेको भन्दै उनले जोखिम नहुने ढङ्गबाट सरकारले योजना बनाएर उद्धारको तयारी थाल्ने बताए । “जहाँसुकै रहेका नेपालीसँग हाम्रो भावनात्मक सम्बन्ध छ, अहिले धेरै कुराहरुलाई योजना बनाएर मात्र काम शुरु गर्नुपर्नेछ, कसरी फर्काउने र नेपालको श्रम बजारमा उहाँलाई कसरी व्यवस्थापन गर्नेबारे गहन छलफल गरेका छौँ”, मन्त्री ज्ञवालीले भने ।
विदेशी भूमिमा रोजीरोटी गुमाएका नेपालीलाई खान बस्न तथा कोरोना सङ्क्रमण भएकालाई उपचार गर्न सरकारले सम्बन्धित मुलुकसँग कूटनीतिक पहल गरिएको बताउँदै उनले गन्तव्य मुलुकमा रहेका दूतावासलाई चनाखो रहन निर्देशन दिइएको जानकारी दिए ।