असार ८, काठमाडौं । निजी तथा आवासीय विद्यालयको संगठन प्याब्सन र नेशनल प्याब्सनले अभिभावकहरूलाई विद्यालयमा आफ्ना छोरोछोरीको भर्ना तथा बक्यौता शुल्क तिर्न अनुरोध गरेका छन् । संगठनहरूले आइतवार संयुक्त अपिल जारी गर्दै विद्यालयलमा बुझाउनु पर्ने २०७७ सालको उक्त शुल्क भुक्तानी गर्न अनुरोध गरेका हुन् ।
लकडाउनका कारण विद्यालयहरू लगातार बन्द रहँदा विद्यालयको आम्दानी शून्य भएको, विद्यालयमा आबद्ध २ लाखभन्दा बढी शिक्षक–कर्मचारी तथा उनीहरूको परिवारजनको जीवनयापन कठिन भएको संगठनहरूद्वारा जारी गरिएको विज्ञप्तिमा उल्लेख छ । निजी शैक्षिक संस्थाहरू स्थापनाकालदेखि नै अभिभावक, विद्यालय व्यवस्थापन–प्रशासन, शिक्षक–कर्मचारीको त्रिकोणात्मक समन्वय र सहकार्यबाट सञ्चालित रहेको भन्दै उनीहरूले कोभिडको परिस्थितिमा अनलाइन लगायत वैकल्पिक माध्यमबाट अध्यापनसँगै भर्ना गर्न समेत अभिभावकलाई आग्रह गरेका छन् ।