पुस १३, काठमाण्डौ । काठमाडौँ–तराई÷मधेस द्रुतमार्गमा पर्ने तीन खण्डको सुरुङमार्गसँगै ‘हाई ब्रिज’ निर्माणका लागि दुईवटा चिनियाँ कम्पनी सङ्क्षिप्त सूचीमा छनोट भएका छन् । नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले पहिलो चरणको सुरुङमार्ग निर्माणका लागि चाइना स्टेट कन्स्ट्रक्सन इन्जिनियरिङ कर्पोरेसन लिमिटेड र पोली चग्डा इन्जिनियरिङ कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत भएको जानकारी दिए । सूचीकृत भएका कम्पनी चीनकै उत्कृष्ट १० निर्माण कम्पनीमध्येका हुन् । दु्रतमार्ग नेपाली सेनाले निर्माण गरिरहेको छ ।
दोस्रो चरणको सुरुङमार्ग निर्माणका लागि पोली चग्डा इन्जिनियरिङ कम्पनी मात्र सङ्क्षिप्त सूचीमा सूचीकृत भएको छ । सुरुङमार्ग निर्माणका लागि आह्वान गरिएको ‘प्रि–क्वालिफिकेसन’को बोलपत्र आह्वानपछि सुरुङमार्ग निर्माणका लागि पहिलो प्याकेजमा २१ र दोस्रो प्याकेजमा २२ गरी ४३ वटा अन्तर्राष्ट्रिय कम्पनीले इच्छा देखाएको थियो । ती कम्पनीमध्ये दुई चिनियाँ निर्माण कम्पनी सङ्क्षिप्त सूचीमा सूचीकृत हुन सफल भएका छन् ।
बोलपत्र पेस गरेका ४३ अन्तर्राष्ट्रिय कम्पनीमध्ये दुईवटा चिनियाँ कम्पनीले मात्र मापदण्ड पूरा गर्न सकेकाले ती कम्पनी सूचीकृत भएको सैनिक प्रवक्ता पौडेलले स्पष्ट पारे । त्यसअघि ४३ कम्पनीमध्ये १५ वटा कम्पनीले पहिलो र दोस्रो चरणको सुरुङ निर्माणका लागि बोलपत्र पेस गरेका थिए । सुरुङमार्ग निर्माण गर्न दुई खण्डमा ‘प्रि–क्वालिफिकेसन’ का लागि ३० फागुन २०७६ मा बोलपत्र आह्वान गरिएको थियो ।