हुलाकी सडक निर्माणसँगै स्वरुप फेरिँदै ग्रामीण बजार

  • अनलाइन केन्द्र
  • / शेयरबजार /
  • २०७७ पौष २२, बुधबार (४ साल अघि)
  • १५ पटक पढिएको
Post Thumbnail

पुस २२, लाहान । कुनै बेला साँघुरो सडक र सडकै छेउमा फुसको छाप्रो, त्यसभित्र सानासाना पसल मात्रै देखिने सिरहाको बरियारपट्टी बजारको स्वरुप यति बेला फेरिएको छ । बजारको स्वरुप फेरिएसँगै त्यहाँका स्थानीयवासीमा पहिलाको भन्दा अचेल बेग्लै खालको उत्साह देखिन थालिएको छ ।

‘‘पहिलापहिला बजार क्षेत्रमा साघुँरो सडक र फुसको छाप्रो, त्यहीँभित्र साना साना व्यवसायी मात्र थियो”, बरियारपट्टीका विनोद यादवले भने, ‘‘तर अहिले सडक फराकिलोसँगै ठूलठूला पक्की भवन र ठूलो पूँजीका पसल खुल्न थालेको छ ।” विगतमा दुर्गम क्षेत्रको रुपमा परिचित सिरहाकै औरही बजार अहिले सुगम क्षेत्रको रुपमा आफ्नो पहिचान फेर्न लागेको छ । यसरी छोटो समयमै सिरहाका ग्रामीण क्षेत्रमा आएको परिवर्तन अन्य कुनै कारणले नभई मधेशकै ‘लाइफलाइन’को रुपमा मानिएको हुलाकी सडक निर्माणसँगै सम्भव भएको हो ।

नेपालकै पुरानो राजमार्गमध्ये पूर्व–पश्चिम हुलाकी सडकअन्तर्गत सिरहा र सप्तरी खण्डमा निर्माणकार्य तीव्र रुपमा अघि बढेसँगै सिरहा र सप्तरीका ग्रामीण क्षेत्र सुगम क्षेत्र बन्दै गएको छ । हुलाकी सडकको निर्माणको काम शुरु भएपछि सो भेगका सर्वसाधारण खुशी भएका छन् । हुलाकी सडक निर्माण भएपछि मधेसको विकासले गति लिनुको साथै हजारौँ युवामा रोजगारीको अवसर सिर्जना हुने स्थानीयवासीको विश्वास छ । ‘‘हुलाकी सडक जीर्ण हुँदा सर्वसाधारण सास्ती बेहोर्दै आएका थियौँ”, सिरहाको भगवानपुर गाउँपालिकाका श्याम यादवले भने , ‘‘हुलाकी सडक निर्माण भएपछि सदरमुकाम सिरहासम्म पुग्न सहज भएको छ ।”

हुलाकी सडक विस्तार र स्तरोन्नतिको कामले सिरहाको आधा दर्जन स्थानीय तहको विकासमा ठूलो टेवा पुग्ने बरियारपट्टी गाउँपालिका अध्यक्ष सन्तोष मेहताले बताए । ‘‘हुलाकी सडक निर्माणले यहाँका जनतालाई सदरमुकाम सिरहा बजार र प्रदेश नं २ को राजधानी जनकपुरसम्म जान नजीक भएको र यसबाट विकासको अन्य ढोका खुल्दै गएको छ ।” किसानले उब्जाएको उत्पादन सहजै रुपमा सिरहा बजार र लहान बजारसम्म पठाउन सकिने भएको गाउँपालिका अध्यक्ष मेहताको भनाइ छ ।

ताजा अपडेट

खोजी गर्नुहोस