पुस २२, रामपुर । राष्ट्रिय गौरवको आयोजना कालीगण्डकी करिडोरअन्तर्गत बागलुङको मालुढङ्गादेखि पाल्पाको पीपलडाँडा खण्डसम्मको निर्माणकार्य अन्तिम चरणमा पुगेको छ । करिडोरअन्तर्गत बागलुङको मालढुङ्गादेखि गैँडाकोटसम्मको सडकखण्डमध्ये पाल्पा जिल्लाको बगनासकाली गाउँपालिकाअन्तर्गत यम्घाको मन्द्रानमा ५०० मिटर सडकको ट्र्याक खुल्ने बाहेक सबै काम अन्तिम चरणमा पुगेको हो ।
यस खण्डमा कडा चट्टाने पहाड भएकाले सामान्य मेसिन र प्रविधिले चट्टान फुटाउन नसक्दा विस्फोटक पदार्थ प्रयोग गर्नुपर्ने भएकाले त्यसको आवश्यक प्रक्रिया अगाडि बढेको कार्यालयले जनाएको छ । उत्तर दक्षिण जोड्ने कालीगण्डकी करिडोरअन्तर्गत पाल्पामा ३० किलोमिटर सडक पर्दछ ।
राम्दीदेखि मालढुङ्गासम्मको ५०० किलोमिटर सडकको ट्र्याक खोल्ने कामअन्तर्गत पाल्पाको रानीमहल रिडी, दैलातुङ रानीमहल, राम्दी दैलातुङ सडकखण्डमा ठेक्का सम्झौता भए पनि चट्टाने पहाड भएकाले काम गर्न समस्या परेको हो । ट्र्याक खोल्न बाँकी रहेको ५०० मिटर क्षेत्रमा कडा खालको चट्टाने भाग रहेको क्षेत्रमा विस्फोटक पदार्थ प्रयोग गरी फुटाउनुपर्ने भएकाले जिल्ला प्रशासन कार्यालय पाल्पासँग समन्वय गरेर काम गर्न कार्यालयलाई पत्राचार गरिएको आयोजनाका प्रमुख सुबोधकुमार देवकोटाले बताए ।