भाद्र १९,काठमाडौँ । झापाको मेचीनगर नगरपालिकाका कर्मचारी विरुद्ध जनप्रतिनिधि आन्दोलनमा उत्रेका छन् । वरियताको विषयमा कर्मचारीहरूबिच विवाद हुँदा त्यसको असर वडाका योजनाहरूमा परेको र उपभोक्ता समितिहरू समेत प्रत्यक्ष मारमा पर्दा काम प्रभावित भएको भन्दै वडाध्यक्ष सहितका जनप्रतिनिधिहरू आन्दोलनमा उत्रेको पाइएको हो । मेचीनगर वडा नं ४ का वडा अध्यक्ष अर्जुन कार्की, वडा नं १० का वडा अध्यक्ष नारायण खनाल र वडा नं १३ का वडा अध्यक्ष कृष्ण सिग्देलले सोमबार अपराह्न नगरपालिकाको मुख्य प्रवेशद्वारमा नै पत्रकार सम्मेलन गरेर कर्मचारीहरूको कार्यशैलीको विरोध गर्दै पत्रकार सम्मेलन गरेपछि यो विषय बाहिरिएको हो ।
वडा नं. ४ का का वडाध्यक्ष अर्जुन कार्कीले जनताको काम रोकेकाले आफूहरू विरोधमा उत्रनु परेको बताए। हामीले दुइ दिन भित्र कर्मचारीहरूलाई सच्चिन मौका दिएको र आफूहरूले उठाएको विषयहरूमा जवाफ मागेको जनाउँदै त्यो नभए थप सशक्त आन्दोलन गर्ने उनको भनाई थियो । निर्वाचित जनप्रतिनिधिलाई नै असफल बनाउने गरी कर्मचारी लागेको उनको भनाइ रहेको छ । चार महिना अघि नै प्रक्रिया पुगेर आएका कतिपय योजनाको भुक्तानी विना कारण नदिने र रोक्नुको कारण समेत नभन्नु सरासर नाजायज हो, कार्कीले भने । यसबाट वडावासीहरू धेरै नै पीडित भएको उनको भनाई छ । ब्यक्तिको नभएर विधिको शासनको माग गरेका छौ, उनले भने ।
वडा नं १० का वडाध्यक्ष नारायण खनालले कर्मचारीका कारण नगरवासी र आफूहरूले धेरै दुख पाएको बताए । नगरपालिका आउन समेत मन नलाग्ने अवस्था सिर्जना भएको छ, उनले भने। कर्मचारीको व्यवहार र अटेरीपनले नगरपालिका नै पस्न मन लाग्न छाडिसक्यो, उनले भने । आफूहरू निर्णय गर्ने ठाउँमा रहेको र कर्मचारीलाई सुधार्न धेरै पटक निर्णय भए पनि सुधार नआएपछि आन्दोलनमा उत्रनु पर्ने अवस्था आएको वडा नं १३ का वडाध्यक्ष कृष्ण सिग्देलको दावी छ। हामीले बैठकमा धेरै पटक कुरा उठाएका छौ तर सुधार नआएपछि आन्दोलन बाहेक अरू विकल्प नै नरहने भयो, उनले भने ।
वडाध्यक्षसँगै नगरपालिका गेटमा पत्रकार सम्मेलनमा आउनु भएका देवी प्रसाद आचार्यले सब्जी खेतीका लागि आफूहरूलाई दिने भनेको रकम ५ महिना धाउँदा समेत नपाएको बताए । यहाँ त कर्मचारीले हाम्रो कुरा नै सुन्दैनन् र वडाध्यक्षलाई गुहार माग्न जाँदा उनीहरूको पनि कुरा सुनुवाइ नहुँदो रहेछ, उनले भने ।
औषधि खरिद गर्दा ढिलाइ गरेको, कृषक समूहका लागि सम्झौता गरेर कार्यसम्पादन गरिसकेको योजनाको भुक्तानी रोकेको, बिपत व्यवस्थापनका लागि आवश्यक तार जाली खरिद नगरेको, कर्मचारीको बखेडा झिकेर नगरको विकास निर्माणको काम रोकेर जनप्रतिनिधिलाई सास्ती दिएको लगायतका आरोप जनप्रतिनिधिहरूले कर्मचारीहरूलाई लगाएका छन् ।