नवराज विक हत्या प्रकरणः २३ जनालाई जन्मकैद, प्रेमिकालाई २ वर्षको जेल सजाय

  • अनलाइन केन्द्र
  • / मुख्य समाचार /
  • २०८० मंसिर २०, बुधबार (१ साल अघि)
  • १६ पटक पढिएको
Post Thumbnail

मंसिर २०, काठमाण्डौँ । विसं २०७७ जेठ १० गते रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोतीगाउँमा भएको घटनाको अन्तिम फैसला भएको छ । जाजरकोटका नवराज विकसहित छ जनाको हत्या भएको घटनाको मुद्दाको अन्तिम फैसला आएको हो । आइतबारदेखि सुरु भएको सुनुवाइको अन्तिम फैसला तीन दिन लगाएर मङ्गलबार साँझ आएको हो ।

जिल्ला न्यायाधीश खड्कबहादुर केसीको एकल इजलासले घटनाको कसुरमा कारागारमा रहेका २३ जनालाई जन्मकैदको फैसला सुनाएको जिल्ला अदालत रुकुम पश्चिमका सूचना अधिकारी गोविन्दप्रसाद कोइरालाले जानकारी दिए ।

कोइरालाका अनुसार नवराजकी प्रेमिकासहित उनको परिवारका तीन जनालाई जातीय विभेदको मुद्दामा दुई वर्ष कैद र रु ५० हजार जरिवाना तोकिएको छ । साधारण तारेखमा छुटेका ११ जनामध्ये आठजनाले सफाइ पाएको सूचना अधिकारी कोइरालाले जानकारी दिए । त्यसैगरी पीडितलाई प्रतिवादीको तर्फबाट रु ४० हजारका दरले क्षतिपूर्ति भराउने फैसला भएको छ ।

उक्त घटनाको जाहेरीपछि ३४ जना पक्राउ परेका थिए । उनीहरूमध्ये थुनछेक बहसका क्रममा दुई जना बालकसहित ११ जना तारेखमा छुटेका थिए ।

भेरी नगरपालिकास्थित रानागाउँका २१ वर्षीय नवराज आफ्ना साथीहरूसहित रुकुम पश्चिमको चौरजहारी नगरपालिका–८ सोती गाउँकी मल्ल थरकी प्रेमिकाको परिवारसँग आफ्नो विवाहको कुरा गर्न उनी त्यहाँ पुगेका थिए । दलितले ठकुरीकी छोरीसँग विवाह गर्न लागेको भन्दै युवतीका परिवार र सोतीका स्थानीयले नवराजसहित उनका साथीहरूलाई लेखेटेर हत्या गरेका थिए । घटनामा १२ जना घाइते भएका थिए । घटनामा ज्यान गुमाएकाको शव भेरी नदीमा भेटिएको थियो ।

ताजा अपडेट

खोजी गर्नुहोस