एसियाली खेलको विशेष तयारीका लागि नेपाली टोली थाइल्याण्ड जाँदै

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७५ श्रावण १०, बिहिबार (६ साल अघि)
  • २४ पटक पढिएको
Post Thumbnail

साउन १०,काठमाडौँ । अर्को महिना इण्डोनेसियामा हुने १८औं एसियाली खेलकुद र त्यसपछि बंगलादेशमा हुने साफ च्याम्पियनसिपको तयारीमा रहेको नेपाली राष्ट्रिय फुटबल टोलीले थाइल्याण्डमा १० दिने विशेष तयारी गर्ने भएको छ ।

राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक ग्योतोकु कोजीले २९ जना खेलाडी सम्मिलित टोलीलाई थाइल्याण्ड भ्रमण गराउन लागेका छन् । नेपाली टोली अर्को शुक्रबार थाइल्याण्ड प्रस्थान गर्नेछ ।

थाइल्याण्डमा रहँदा नेपालले अगष्ट ७ मा त्यहाँको ए डिभिजन क्लवको टोलीसँग मैत्रीपूर्ण खेल खेल्नेछ भने अगष्ट १० मा थाइल्याण्डको राष्ट्रिय टोलीसँग अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्नेछ ।

प्रशिक्षक कोजी र उनको टोली आगामी भदौ २ देखि १७ सम्म इण्डोनेसियाको जाकार्तामा हुने एसियाली खेलकुदको तयारीस्वरुप त्यस हावापानीसँग सुहाउँदो प्रशिक्षणका लागि थाइल्याण्ड जान लागेको हो । नेपाली टोली अगष्ट १२ मा उतैबाट इण्डोनेसिया प्रस्थान गर्नेछ ।

एसियन गेम्स अन्तर्गतको पुरुष फुटबल अगष्ट १४ देखि सेप्टेम्बर १ सम्म हुनेछ । त्यसपछि सेप्टेम्बर ४ देखि बंगलादेशमा हुने साफ च्याम्पियनसिपमा नेपालले सहभागिता जनाउनेछ । एसियाली खेलकुदमा यू–२३ टोली समावेश हुने भएकाले दुवै प्रतियोगिताको तयारीस्वरुप २९ खेलाडीलाई वैदेशिक प्रशिक्षणमा पठाउन लागिएको एन्फाले जानकारी दिएको छ ।

एसियाली खेलकुदमा नेपाल समूह डी मा छ । यस समूहमा एसियाली पावरहाउस जापान, भियतनाम र पाकिस्तान छन् । त्यस्तै साफ च्याम्पियनसिपमा नेपाल घरेलु टोली बंगलादेश, पाकिस्तान र भुटानको समूहमा परेको छ ।

दुवै प्रतियोगिताका लागि नेपाली टोली पछिल्लो तीन महिनादेखि काठमाडौंमा प्रशिक्षणरत छ ।

ताजा अपडेट

खोजी गर्नुहोस