असोज ७, काठमाडौं । काठमाण्डौमा जारी यू–१८ साफ च्याम्पियनसिप फुटबल प्रतियोगिताको समूह चरणमा मंगलबार माल्दिभ्स र भुटानबीच प्रतिस्पर्धा हुँदैछ । मंगलबारको नतिजाले नेपालको पनि भाग्यको फैसला गर्ने भएकाले नेपाली समर्थकहरुको ध्यान दिउँसो ३ बजे हुने खेलमा अडिएको छ ।
पहिलो खेलमा माल्दिभ्ससँग १–१ गोलको बराबरी गरेको नेपाल दोस्रो खेलमा भुटानसँग ३–० ले स्तव्ध भए पछि सेमिफाइनल पुग्नका लागि माल्दिभ्स र भुटानबीचको नतिजा कुर्नु पर्ने भएको हो ।
यदि माल्दिभ्स र भुटान बराबरीमा रोकिएमा पनि लगातार २ संस्करणको च्याम्पियन नेपाल समूह चरणबाटै आउट हुने छ । नेपाल सेमिफाइनल पुग्ने सम्भावना भने झिनो जस्तै रहेको छ ।
भुटानले माल्दिभ्सविरुद्ध कम्तीमा ४–० को जित निकालेमा मात्रै नेपाल उप–विजेताको रुपमा सेमिफाइनल खेल्न पाउने छ । अन्यथा उपाधिमाथि ह्याट्रक गर्ने अभियानबाट नेपाल चुक्ने छ । प्रतियोगिता अन्तर्गत भुटान सेमिफाइनल पुगिसकेको छ ।