नेपाल जिम्बाब्वेसँग ४० रनले पराजित

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ आश्विन १४, मंगलबार (५ साल अघि)
  • २७ पटक पढिएको
Post Thumbnail

असोज १४, काठमाडौं । सिंगापुरमा जारी त्रिकोणात्मक टि–ट्वान्टी क्रिकेट अन्तगर्त नेपाल जिम्बाव्वेसँग ४० रनले पराजित भएको छ।

नेपालले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको जिम्बाब्वेले निर्धारित २० ओभरमा ६ विकेट गुमाएर १ सय ६० रन बनाएको थियो।

जिम्बावेका सिन विलियम्सले सर्वाधिक ५३, पिटर मुरले २१, तिनोटेन्डा मुतुम्बोजीले २० र रायन बर्लले अविजित २८ रन बनाए।

बलिङतर्फ नेपालका बलर सन्दीप लामिछाने र सोमपाल कामीले दुई–दुई विकेट लिए। पारस खड्का र अविनाश बोहराको नाममा समान एक विकेट रह्यो।

चार ओभरमा सन्दीपले २७ र सोमपालले १५ रन खर्चिए। विलियम्सले ३५ बलमा तीन छक्का र चार चौका प्रहार गरे। दुवै ओपनरलाई सस्तैमा गुमाएपनि जिम्बावेले राम्रो पुनरागमन गरेको थियो। नेपालले १५ अतिरिक्त रन दियो।

सन्दीपले पालीको पहिलो ओभरमै जिम्बाब्वेका ओपनर ब्याट्सम्यान ब्रायन चारीलाई एलबीडब्लु धरापमा पारेका थिए। चारीले खाता खोल्न सकेनन्। ३८ रन जोड्दा तीन विकेट गुमाएको जिम्बावेले चौथो विकेटका लागि ६० रनको साझेदरी गर्यो। त्यसपछि छैटौँ विकेटका लागि ४४ रनको साझेदारी भयो।

१ सय ६१ रनको लक्ष्य पछ्याएर जवाफी व्याटिङमा उत्रिएको नेपालले निर्धारित २० ओभरमा ९ विकेटको क्षतिमा १ सय २० रन मात्रै बनाउन सक्यो।

नेपालका लागि विनोद भण्डारीले सर्वाधिक ३३, आरिफ शेखले २५, करण केसीले १८, कप्तान पारस खड्काले १२ जोडेपनि अन्य व्याट्म्यानले दोहोरो अंकको रन जोड्न सकेनन्।

नेपालमाथि जित हात पार्ने क्रममा जिम्बाब्वेका सेन विलियम्सले सर्वाधिक तीन र तिनोटेन्डा मुतुम्बोजीले दुई विकेट लिए।

नेपाल आफ्नाे पहिलाे खेलमा पनि जिम्बाब्वेसँग पराजित भएकाे थियाे। नेपालले बुधबार सिंगापुरसँग खेल्नेछ।

ताजा अपडेट

खोजी गर्नुहोस