रोनाल्डोको ९९ औँ अन्तर्राष्ट्रिय गोल, पोर्चुगल युरोकपकाे लागी छनाैट

  • अनलाइन केन्द्र
  • / खेलकुद /
  • २०७६ मंसिर २, सोमबार (५ साल अघि)
  • १८ पटक पढिएको
Post Thumbnail

मंसिर २, काठमाडौं । साबिक विजेता पोर्चुगल युरोकप फुटबल २०२० का लागि छनौट भएको छ। कप्तान क्रिष्टियानो रोनाल्डोले राष्ट्रिय टिमबाट ९९ औँ गोल गरेको खेलमा लग्जेम्बर्गलाई २–० ले पराजित गर्दै पोर्चुगल युरोकपका लागि छनौट भएको हो ।

समूह बी अन्तर्गत आइतबार राति भएको खेलमा अवे मैदानमा पोर्चुगलको जितमा पहिलो हाफमा एक तथा दोस्रो हाफमा थप एक गोल भएको हो । उसका लागि ३९ औँ मिनेटमा बु्रनो फर्नान्डेस तथा ८६ औँ मिनेटमा रोनाल्डोले गोल गरेका हुन् ।

८ खेलबाट १७ अंक बनाएको पोर्चुगल समूह उपविजेताका रुपमा छनौट हुन सफल भएको हो । सर्बियासँग २–२ को बराबरीमा रोकिएको युक्रेन समूह विजेता बन्यो । सर्बियाले भने छनौटका लागि प्लेअफ खेल्नु पर्ने भएको छ ।

रोनाल्डोले राष्ट्रिय टिमबाट गोल गर्ने क्रम लगातार जारी राखेका छन्।

तर उनले लग्जेम्बर्गसँगैको खेलमा आफ्नो गोल संख्या १०० भने बनाउन सकेनन् । राष्ट्रिय टिमबाट १०० गोलको आँकडा पूरा गर्ने इतिहासकै दोस्रो खेलाडी बन्ने मौकाका लागि रोनाल्डोले कम्तिमा आउँदो मार्चसम्म पर्खनु पर्ने भएको छ ।

पोर्चुगलका सर्वाधिक गोलकर्ता रोनाल्डो विश्वमै राष्ट्रिय टिमबाट सर्वाधिक गोल गर्ने खेलाडी बन्ने होडमा छन् ।

उनी भन्दाअघि इरानका लेजेण्ड अली दाइ छन्, उनले १०९ गोल गरेका छन् । रोनाल्डोले गएको बिहीबार राष्ट्रिय टिमबाट नवौँ ह्याट्रिक गरेका थिए । उनले गरेका ह्याट्रिक मध्ये सातवटा त उनी ३० वर्ष पुगेपछिका हुन् ।

अन्तर्राष्ट्रिय ब्रेकअघि रोनाल्डो पूर्णरुपमा फिट नरहेको बताइएको थियो । छनौट खेल्नुअघिका युभेन्टसबाटका दुई खेलमा रोनाल्डोले पूर्ण समय मैदानमा बिताएका थिएनन् ।

रोनाल्डोले भने, ‘अहिले पनि म सतप्रतिशत फिट छैन । पछिल्लो तीन हप्ता मैले पूर्ण क्षमतामा खेलेको छैन ।’

उनले अघि थपेका छन्, ‘तर जब क्लब र राष्ट्रिय टिमबाट केही गर्नु पर्ने बेला आउँछ म सबै कुरा दाउमा लगाएर खेल्छु ।’

ताजा अपडेट

खोजी गर्नुहोस