मंसिर १९, काठमाडौं । नेपालकी सञ्जु चौधरीले दक्षिण एशियाली खेलकुद (साग) अन्तर्गत भारोत्तोलनमा स्वर्ण पदक जित्दै इतिहास रचेकी छन्।
महिला ५९ केजी तौल समूहमा सञ्जुले श्रीलंकाका खेलाडीलाई पछि पार्दै स्वर्ण जित्न सफल भएकी हुन्।
पोखरा १२, माटेपानीस्थित एसआर केसी बैंक्युटमा बिहीबारदेखि सुरु प्रतियोगितामा सञ्जुले स्न्याचमा ७४ र क्लीन एण्ड जर्कमा ९७ सहित १७१ केजी भारवहन गर्दै राष्ट्रिय कीर्तिमान (स्न्याच, क्लीन एन्ड जर्क तथा टोललतर्फ)का साथ साग भारोत्तोलनमा महिलातर्फ पहिलो स्वर्ण जित्न सफल भएकी हुन्।
प्रतियोगितामा श्रीलंकन खेलाडी आर.एम.एन.एस. राजापाक्षाले स्न्याचतर्फ ७० र क्लीन एन्ड जर्कमा ९१ गरी १६१ केजीका साथ रजत र बंगलादेशकी फायमा अख्तरले स्न्याचमा ७० र क्लीन एण्ड जर्कमा १६० केजी भारवहन गर्दै कास्य जितिन्। चार देशले भाग लिएको विधामा पाकिस्तानको पनि सहभागिता थियो।
गत वर्ष नेपाल पुलिसमा छिरेकी सञ्जुले सागको पहिलो सहभागितामै सिनियरतर्फ स्वर्ण जितेपछि यसको श्रेय प्रशिक्षकसहित घरपरिवारका सदस्यलाई सुम्पिन्। उनले आफूलाई निकै खुसी लागेको र सोचेजस्तो लिफ्ट लिन सकेको प्रतिक्रिया दिइन्।
साग भारोत्तोलनमा गत वर्षबाट मात्र नेपालले महिलातर्फ सहभागिता जनाएको हो।
१० औं संस्करणका सागमा नेपालका कमलबहादुर अधिकारीको नाममा पहिलो स्वर्ण छ।
यस्तै, महिला ५५ केजी तौल समूहमा भारतले स्वर्ण जित्यो। त्यस्तै बंगलादेश र पाकिस्तानले क्रमशः रजत र कास्य जित्न सफल भए।
भारतकी विन्ध्यारानी देवीले स्वर्ण जितेकी हुन्।
बंगलादेशकी फूलपोटी चक्माले १४८ र पाकिस्तानकी साइमा सहजादले १३५ केजी भार बहन गरेका हुन्। बंगलादेशबाट स्न्याचमा ६३ र क्लीन एण्ड जर्कमा ८५ तथा पाकिस्तानकी खेलाडीबाट स्न्याचमा ६१ र क्लीन एण्ड जर्कमा ७४ भार बहन गरिएको थियो।