चैत्र १४,काठमाडौँ । त्रिदेशीय टी–२० श्रृङ्खलाको पहिलो खेलमा घरेलु टोली नेपालले पपुवा न्यूगिनी (पीएनजी) लाई १५ रनले पराजित गरेको छ ।
नेपालले दिएको १८४ रनको लक्ष्य पछ्याएको पीएनजीले १९.२ ओभरमा सबै विकेट गुमाएर १६८ रनमा अलआउट भयो ।
पीएनजीका लागि नोर्मन भानुअले २९ बल खेल्दै ५ चौका र ४ छक्का मद्दतमा सर्वाधिक ५२ रन बनाए । सेसे बाउले ३० रन बनाउँदा चार्ल्स अमिनीले २२ तथा लेगा सिएकाले २१ रन जोडे ।
पीएनजीका टोनी उरालाईले दोस्रो ओभरमै करण केसीले आउट गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए । सोमपाल कामीले अर्का ओपनर सिएकालाई तेस्रो ओभरमा आउट गरे ।
अविनाश बोहराले छैटौं ओभरमा चार्ल्स अमिनीलाई बोल्ड गर्दा पीएनजीले पावर प्लेमा ५५ रन जोड्दा ३ विकेट गुमाएको थियो ।
पीएनजीका कुनै पनि जोडीलाई नेपाली बलरले लामो साझेदारी गर्न दिएनन् । कप्तान असद भाला र सेसे बाउले चौथो विकेटका लागि बनाएको ३२ रनको साझेदारी नै पीएनजीको इनिङ्समा ठूलो साझेदारी बन्यो ।