जेठ १०, काठमाण्डौ । पाकिस्तानको लाहोरबाट उडेको यात्रुबाहक विमान कराचीस्थित विमानस्थल बाहिरको आवासीय क्षेत्रमा शुक्रबार दुर्घटना हुँदा कम्तीमा ८६ जनाको मृत्यु भएको छ । विमानमा ९१ जना यात्रु र चालक दलका ८ सदस्य थिए ।
अधिकारीहरुले अहिलेसम्म ८६ जनाको मृत्यु भएको पुष्टि भएको बताएका छन् । यद्यपि, मृत्यु हुनेको संख्या अझ बढी रहेको जनाइएको छ । सिन्ध प्रान्तका सूचनामन्त्री नासिर हुसेन शाहले दुर्घटनामा कम्तीमा २ जना यात्रु बच्न सफल भएको बताएका छन् । उनीहरुलाई घाइते अवस्थामा उद्धार गरी अस्पताल लगिएको उनले जनाए ।
विमानमा पन्जाब बैंकका अध्यक्ष जफार मसुद र २४ न्युज टेलिभिजनका कार्यक्रम निर्देशक रहेको थिए । मसुदको परिवारका सदस्यहरुले उनीको अस्पतालमा उपचार भइरहेको जनाएका छन् ।
ए–३२० विमान कराचीस्थित जिन्नाह अन्तर्राष्ट्रिय विमानस्थलभन्दा ३।२ किलोमिटर बाहिरको आवासीय क्षेत्र मोडेल कोलोनीमा खसेको हो । पाकिस्तानी सञ्चारमाध्यमका अनुसार विमान स्थानीय समयअनुसार दिउँसो २।३० बजे दुर्घटनामा परेको हो । एजेन्सी