पुस ३,काठमाडौँ । खानेपानी मन्त्रालयले मेलम्ची खानेपानी आयोजनाको निर्माण समयमै सम्पन्न हुने स्पष्ट पारेको छ ।
ठेकेदार सीएमसी कम्पनी टाट पल्टेको र आयोजनाबाट हात झिक्न लागेको समाचार सार्वजनिक भएपछि मन्त्रालयले निर्धारित कार्यतालिका प्रभावित नहुने गरी समयमै आयोजना सम्पन्न गर्न विभिन्न विकल्पमा छलफल गरिरहेको बताएको छ ।
खानेपानी मन्त्रालयका सचिव गजेन्द्रकुमार ठाकुरद्वारा जारी प्रेस विज्ञप्तिमा अहिलेकै ठेकेदार कम्पनी सीएमसीबाट आयोजनाको निर्माण कार्य सम्पन्न गर्न सकिने अवस्थाका बारेमा पनि मन्त्रालय र मेलम्ची आयोजनाले विभिन्न विकल्पमा परामर्श गरिरहेको जनाइएको छ ।
त्यस्तै सीएमसी कम्पनीले काम नगर्ने अवस्थामा समेत आयोजनाको कार्यतालिका प्रभावित नहुने गरी काम अगाडि बढ्ने मन्त्रालयले जनाएको छ । सीएमसीले हात झिकेको अवस्थामा मन्त्रालयले फास्ट ट्रयाक विधिमार्फत अन्य कुनै कम्पनीलाई काम दिएर भए पनि मेलम्ची खानेपानी आयोजनाको काम समयमै सम्पन्न गर्ने स्पष्ट पारेको छ ।
मेलम्ची खानेपाली आयोजनाको निर्माणका लागि २०६५ सालमा सीआरसीसी नामक चिनियाँ कम्पनीसँग ठेक्का सम्झौता भएको थियो । तर २०६९ असोज ९ गते सीआरसीसीसँग सम्झौता भङ्ग भएको थियो । त्यसपछि मेलम्ची खानेपानी विकास समितिले इटालीको सीएमसी कम्पनीसँग २०७० साल असार ३१ गते दोस्रो निर्माण सम्झौता गरेको थियो । मेलम्ची विकास समिति र सीएमसी कम्पनीबीच ७ अर्ब ७२ करोड ३४ लाख ७१ हजार ३ सय ४२ नेपाली रुपैयाँमा प्रारम्भिक निर्माण सम्झौता भएको थियो । सम्झौता भएको ३६ महिनामै आयोजना निर्माण गरिसक्ने सम्झौता भए पनि भूकम्प र नाकाबन्दीका कारण आयोजना निर्माणमा ढिलाई भएको थियो ।