आश्विन ११,काठमाडौँ । नेकपा एमालेको बाग्मती प्रदेश अधिवेशनको चुनावमा ढिलाइ भएको छ । बिहान ११ बजे नै मतदान शुरु गर्ने भनिए पनि अहिलेसम्म शुरु हुन सकेको छैन ।
सहमतिको प्रयास भइरहेकाले चुनावमा ढिलाइ भइरहेको एमाले नेताहरुले बताएका छन् । एमालेको बाग्मती प्रदेश अध्यक्षको लागि पाँच जनाको उम्मेदवारी परेको छ । कृष्णप्रसाद दाहाल, कैलाश ढुङ्गेल, सानु श्रेष्ठ, केशरबहादुर बुढाथोकी र केशव पाण्डेले अध्यक्षमा उम्मेदवारी दर्ता गराएका निर्वाचन समितिले जनाएको छ ।
४० वटा भोटिङ मेसिन प्रयोग गरेर मतदान हुने र भोटिङ मेसिनमा एक जनालाई मतदान गर्न २० देखि २५ मिनेट लाग्ने अनुमान छ । एमाले बाग्मतीमा एक हजार १ सय ६४ जना मतदाता रहेका छन् । ५ जना पदाधिकारीका लागि २६ जनाको उम्मेदवारी परेको छ ।
यो अधिवेशनले पाँच पदाधिकारीसहित २४० सदस्यीय प्रदेश कमिटी चयन गर्नेछ । यस्तै, एमालेको कर्णाली प्रदेश प्रथम अधिवेशनको आज बन्द सत्र हुँदैछ ।