फागुन १९, हेटौंडा । बंगलादेश नेपाल च्याम्बरका उपाध्यक्ष एवम् मकवानपुर उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष अरुणराज सुमार्गीको नेतृत्वमा बंगलादेश पुगेका व्यवसायीहरुले बंगलादेश र नेपालबीच सहकार्य र सम्भावना बोकेका व्यवसायको व्यापार सम्बन्ध विस्तार गरिने भएको छ ।
बंगलादेश नेपाल च्याम्बर अफ कमर्श एण्ड इन्ड्रष्टिजको निमन्त्रणामा २२ जनाको टोली फागुन १५ गते बंगलादेश प्रस्थान गरेको थियो । मउवा संघबाट सहभागिता जनाएका प्रतिनिधिहरुले बंगलादेश उद्योग वाणिज्य महासंघका प्रतिनिधिहरुबीच सहकार्यका सम्भावनाहरु बारे बृहत छलफल गरिएको मउवा संघका अध्यक्ष कृष्णकुमार गुप्ताले बताए ।
बंगलादेशमा रहेका विभिन्न उद्योग वाणिज्य संघसँग अनुभव आदानप्रदान गर्दै व्यापार विस्तार गर्न सहज वातावरण बनाउनु पर्ने कुरामा छलफल गरिएको थियो । नेपालबाट गएको टोलीले ढाका स्थित बंगलादेश महिला उद्योग वाणिज्य संघको कार्यालय समेत पुगेको थियो ।
बंगलादेशकी पूर्व सांसद समेत रहेकी सेलिमा अहमद अध्यक्ष रहेको महिला उद्यमीहरुको संस्थाले बंगलादेशभित्र ५० हजार भन्दा बढी महिलालाई आवद्ध गराई उद्यमी बनाइ सामाजिक रुपान्तरणको अनुकरणीय नमुना कामहरु गरिरहेको उक्त संस्थाका उपाध्यक्ष संगीता अहमदलले बताईन् ।
नेपाल र बंगलादेशबीच हस्तकला, कृषिउपज, कपडा, प्रविधि हस्तान्तरण आदि क्षेत्रमा सहकार्य भइरहेको तर उच्च भंसार दर एंव भारतीय नाका प्रयोगले उच्च प्रतिफल हासिल नभएको जानकारी दिइएको थियो ।
बंगलादेश उद्योग वाणिज्य महासंघका अध्यक्ष महतुबुल आलमले स्वागत गर्दै नेपालको विद्युत यहाँ निर्यात गर्न आवश्यक छ तर भु(राजनिति बाधक रहेको तर महासंघले निजीक्षेत्रको सहकार्यमा नेपाल स्थित विभिन्न जलविद्युत परियोजनामा सम्भावित लगानीका बारेमा छलफल भइरहेको बताएका थिए । दुई देशको सम्बन्ध प्रगाढ बनाउन यस्ताखाले भ्रमण भेटघाट र छलफलले अझै भइरहनुपर्ने उनले बताए ।
छलफलको क्रममा बंगलादेश उवा महासंघका वरिष्ठ उपाध्यक्ष मोहम्मद अमिन हिलेलीले हिमालयन वाटर, अदुवा, गोलभेँडा तथा दुधजन्य उत्पादन नेपालबाट निर्यातको सम्भावना रहेता पनि बंगलादेशको उच्च भन्सार दरको कारण यसले गति लिन नसकेको बताए । महासंघले दुबै देशको निजी क्षेत्रको विकासको लागि भन्सार दर परिवर्तन गर्न पहल भइरहेको समेत बताए ।
भ्रमण टोलीमा सुमार्गी र संघका अध्यक्ष गुप्ता सहितसंघका सल्लाहकार सरोज खनाल, अशोक शाक्य, वरिष्ठ उपाध्यक्ष अनिल अग्रवाल, उपाध्यक्ष प्रमोदसिं रानाभाट, महासचिव दीपक उप्रेती, सचिव राजाराम कार्की, सदस्यहरुमा दिवस पराजुली, कुलप्रसाद चौलागाई, तेजराज अधिकारी, नेत्रप्रसाद खतिवडा, प्रदीप अर्याल, जगदीश दाहाल, सीतादेवी भेटुवाल, कृष्णराज कोइराला, पेट्रोलियम डिलर्स एशोसिएसनका अध्यक्ष उत्सव इटेनी, क्यान मकवानपुर अध्यक्ष शिवकुमार श्रेष्ठ, भाडाँ व्यवसायी संघका अध्यक्ष विष्णु विडारी, महिला उद्यमी सुनिता श्रेष्ठ हाडा र संघका कार्यकारी निर्देशक सुजन सुवेदी रहेका छन् ।