जेठ २६, काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल बैंक लिमिटेडका पूर्वअध्यक्ष डा. चन्द्रबहादुर अधिकारीविरुद्ध भ्रष्टाचार मुद्दा दायर भएको छ । बैंकको कर्जा प्रवाह गर्दा घुस लिएको अभियोगमा अख्तियार उनीसहित पाँच जनाविरुद्ध सोमबार विशेष अदालतमा मुद्दा दायर गरेको हो ।
रुपन्देहीको भुसाल हस्पिटालिटीलाई नेपाल बैंकबाट एक अर्ब ७७ करोड २९ लाख कर्जा प्रवाहमा सघाएबापत १९ लाख अधिकारीले घुस लिएको अख्तियारले जनाएको छ । भुसाल हस्पिटालिटीका सञ्चालक बालकृष्ण भुसाल, अंकित भुसाल तथा अमृत भुसालविरुद्ध पनि घुस दिएको आरोपमा मुद्दा दायर भएको छ । घुस लेनदेनमा सघाउने नसिब अन्सारीलाई पनि प्रतिवादी बनाइएको छ ।
यस्तै हिमाल तराई कन्ट्रक्सन, अकलादेवी ट्रेडर्ससँग घुस लिएको अभियोगमा पनि छुट्टाछुट्टै मुद्दा दायर भएको छ । हिमाल तराई कन्ट्रक्सनसँग ६ लाख तथा अकलादेवीसँग ५० लाख घुस लिएको पुष्टि भएको आयोगले जनाएको छ । उनको मेबाइल नियन्त्रणमा लिई आयोगले विस्तृत अनुसन्धान गर्दा उनको घुस लेनदेन पत्ता लागेको हो ।
अकलादेवी ट्रेडर्सलाई २५ करोड ऋण दिंदा उनले सञ्चालकहरू नारायण प्रसाद बराल, दानबहादुर कार्की र सुन्दर बहादुर बाँनियासँग २ प्रतिशत घुसको डिल गरी लिएका थिए । कम्पनीका सञ्चालकलाई पनि प्रतिवादी बनाइएको छ भने घुस लेनदेनमा सघाउने सन्तोष सुवेदी र खुस नसिब अन्सारीविरुद्ध पनि मुद्दा दायर भएको छ ।
त्यस्तै, हिमाल तराई कन्ट्रक्सनका सञ्चालक रमेश आचार्यलाई ६ करोड ऋण दिदा ६ लाख घुस लिएका हुन् । घुसवापतको चेक उनको घरबाटै अख्तियारले माघ २३ गते बरामद गरेको थियो ।